काठमाडौँ, २६ मङ्सिर । प्रा डा यज्ञप्रसाद अधिकारीद्वारा सम्पादित ‘नेपालमा लोकतान्त्रिक समाजवाद सिद्धान्त र व्यवहार’ नामक पुस्तक आज सार्वजनिक भएको छ ।
प्रजातन्त्र सम्वद्र्धन केन्द्रले प्रकाशन गरेको उक्त पुस्तकमा अधिकारीसहित अन्य विज्ञहरुका छवटा लेख समावेश छन् ।
पुस्तकमा सामाजिक लोकतन्त्र, लोकतान्त्रिक समाजवादका सैद्धान्तिक आधार र सम्भावनाबारे डर्टमुण्ड विश्वविद्यालय जर्मनीका प्राध्यापक थोमस मेयर, प्राध्यापक डा अधिकारी, प्रा डा रामप्रसाद ज्ञवाली, देवराज दाहाल, चन्द्रदेव भट्ट र डा नारायण नरसिंह खत्रीका लेख रहेका छन् ।
पुस्तकको आज यहाँ एक कार्यक्रमबीच लोकार्पण गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको सिद्धान्त र व्यवहारलाई अभ्यासमा ल्याउन पुस्तक उपयोगी हुने बताउनुभयो ।
अहिलेको सन्दर्भमा लोकतान्त्रिक समाजवादले व्यक्तिको स्वतन्त्रता र राज्यको भूमिकाबीचको सन्तुलन चाहेको उल्लेख गर्दै उहाँले भोलिका पुस्ताको आवश्यकता बुझेर समाजवादको कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।
उपसभापति पौडेलले नयाँ संविधानले परिवर्तनीय समाजलाई सुहाउँदो प्रस्तावनामै लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा प्रष्ट व्याख्या गरिएकोले यसले लोकतान्त्रिक समाजवादलाई चरितार्थ गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– “अहिलेको संविधान कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिको सम्झौताको दस्तावेज हो । यसमा बढी प्रजातान्त्रिक मूल्य र मान्यता हावी छन् । त्यसैले नेपाली समाजलाई राम्रो व्यवस्थामा लैजान संविधानले मद्दत गर्छ र नेपालीको भविष्य पनि राम्रो हुन्छ ।”
पुस्तकको समीक्षा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई व्यवहारमा उतार्न लोकतन्त्रप्रति आस्था राख्नेकालाई पुस्तक उपयोगी हुने बताउनुभयो ।
उहाँले नेपालमा नयाँ समाजवादको व्याख्या र बहसलाई सान्दर्भिक बनाउने हो भने बिपी कोइरालाका नीति र चिन्तनलाई अध्ययन गर्नुपर्ने भन्दै पुस्तकले सुशासन र नेपालको आर्थिक विकासका लागि उपयोगी सन्दर्भ पस्केको उल्लेख गर्नुभयो ।
प्राध्यापक लालबाबु यादवले अहिलेको सन्दर्भमा सामाजिक एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्दै शान्ति, लोकतन्त्र र विकासका लागि सरकार र नागरिक समाजका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।
राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवम् केन्द्रका अध्यक्ष डा जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद, सामाजिक न्याय, एवम् द्रुत आर्थिक विकास जस्ता विषयमा सार्थक बहस चलाउन मद्दत पुग्ने बताउनुभयो । रासस
No comments:
Post a Comment