Sunday, December 27, 2015

पत्रकार प्रशान्त झाको ‘गणतन्त्रको सङ्घर्ष’ लोकार्पण

काठमाडौँ, १२ पुस । हिन्दूस्तान टाइम्सका सहसम्पादक प्रशान्त झाद्वारा लिखित तथा नेपालीमा अनुदित ‘गणतन्त्रको सङ्घर्ष’ (नेपालको समकालीन इतिहास) पुस्तकको आज यहाँ एक कार्यक्रमबीच लोकार्पण गरियो ।

नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनाका सङ्घर्षलाई समेटेर तयार पारिएको सो पुस्तकको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली काँग्रेसका नेता प्रदिप गिरीले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।

सो अवसरमा तमलोपा अध्यक्ष ठाकुरले मधेस आन्दोलन सम्पूर्ण मधेसी जनताको अधिकारको आन्दोलन भएको बताउनुभयो । उहाँले भन्नुभयो– “मधेसी जनताको मागलाई सम्बोधन गरेमात्र सच्चा राष्ट्रवाद हुनेछ ।”

नेता ठाकुरले राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार मानी पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मलाई दुई प्रदेश बनाइनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता गिरीले नेपालमा २०० वर्षअघिदेखि राष्ट्रवादको चर्चा भएपनि त्यसलाई अझै पछ्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपालमा प्रजातन्त्रको स्थापनापछि पनि राष्ट्रवाद समस्यामै रहेको पनि बताउनुभयो ।”

नेता गिरीले जनजाति, दलित, मधेसीलगायत समुदायले उठाएका मागलाई हिजोका मुद्दाका रुपमा भन्दै पन्छाउन नहुने उल्लेख गर्नुभयो । उहाँले आफ्नो हकअधिकार माग्ने अधिकार प्रजातन्त्रमा भएको बताउनुभयो ।

कार्यक्रममा टिप्पणीकार वरिष्ठ पत्रकार नारायण वाग्लेले नेपालको राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारेमा पुस्तकले राम्रोसँग समेटेको तर केही तथ्यगत त्रुटी भने सुधार्नुपर्ने बताउनुभयो । उहाँले पुस्तकमा मधेस आन्दोलन र नेपालमा भएका विभिन्न आन्दोलनलाई पुस्तकमा विश्लेषण गरिएको बताउनुभयो ।

पुस्तकका लेखक झाले संविधान निर्माणका क्रममा मधेसी जनताको हकअधिकारलाई नसमेट्नु दुःखद भएको बताउनुभयो । नेपालका राजनीतिक दलले राष्ट्रवादको चर्को नारा लगाउने प्रवृत्ति रहेपनि सबैलाई नसमेटी राष्ट्रवाद एकपक्षीय हुने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लेखक झाको अंग्रेजी पुस्तकबाट नेपालीमा अनुवाद गर्ने पत्रकार उज्ज्वल प्रसाँई र टिप्पणीकार सुरभी पुडासैनीले पनि बोल्नुभएको थियो भने नेपालको राष्ट्र्रवादबारे छलफल समेत भएको थियो । पुस्तक फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts