काठमाडौँ, १२ पुस । चितवनको सौराहमा पहिलोपटक वायु प्रदूषण मापन गर्ने प्रणाली स्थापना गरिएको छ ।
इसिमोड र नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा वायु गुणस्तर मापन प्रणालीको वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले शनिबार सुरुवात गर्नुभएको हो ।
वायु प्रदूषण फैलिएकाले त्यसले मानव तथा जैविक जगतमा समस्या परेको भन्दै सो केन्द्रको स्थापनापछि हावाको गुणस्तर मापन गर्न सहयोग पुग्ने जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज वायु गुणस्तर केन्द्र नाम दिइएको सो प्रणालीले सो क्षेत्र आसपासको हावाको गुणस्तर मापन गर्नेछ ।
सो प्रणालीले जैविक विविधता संरक्षण, वैज्ञानिक अध्ययन र तथ्याङ्क सङ्कलनमा सहयोग पुग्ने भन्दै मन्त्री सापकोटाले इसिमोड र केन्द्रको सहकार्य प्रशंसायोग्य रहेको बताउनुभयो । वन तथा पर्यावरणीय क्षेत्रमा निर्भर रहेका अल्पसङ्ख्यक समुदायसमेत लाभान्वित हुनेछन् ।
वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले वन तथा पर्यावरणको सुरक्षामा सरकार प्रतिबद्ध रहेको भन्दै नयाँ प्रणालीलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
इसिमोडका निर्देशक डेभिड मोल्डनले हिन्दकुश क्षेत्रको पर्यावरणीय क्षेत्रको संरक्षणमा आफूहरु योजनाबद्ध रुपमा लागेको उल्लेख गर्दै चितवनमा पहिलोपटक वायु गुणस्तर मापन प्रणाली जडान हुनु महत्वपूर्ण परिघटना भएको बताउनुभयो ।
उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा नै किन सो प्रणाली स्थापना गरियो भन्नेबारेमा प्रकाश पार्नुभएको थियो ।
विश्व वन्यजन्तु कोषमा निर्देशक डा घन गुरुङले संरक्षण विज्ञान र राष्ट्रिय निकुञ्जको व्यवस्थापनमा नयाँ प्रणाली सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सो प्रणालीले जैविक विधिता र जैविक प्रणाली संरक्षणमा सहयोग पु¥याउने तथा स्थानीय समुदायलाई वातावरण संरक्षणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । रासस
No comments:
Post a Comment