पोखरा, १८ मङ्सिर । राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरामा कार्यरत लेखा सहायक ऋषिराम भण्डारीको एक कार्यक्रमबीच आज यहाँ बिदाइ गरियोे ।
राससमा २०३५ साउन १ गतेदेखि सेवाप्रवेश गर्नुभएका भण्डारीले उमेर हदका कारण सेवाबाट अवकाश पाउनुभएको हो ।
बिदाइ कार्यक्रममा रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख निमदत्त सुवेदीले सेवा निवृत्त हुनुभएका भण्डारीले राससमा गर्नुभएको योगदान प्रशंसायोग्य भएको बताउँदै उहाँको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको कामना गर्नुभयो ।
रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख एवम् वरिष्ठ सञ्चारकर्मी नारायण कार्कीले भण्डारीले लामो समयसम्म राससमा गर्नुभएको योगदान अनुकरणीय भएको बताउनुभयो । समयसापेक्ष रुपमा राससको भूमिका अझै बढ्दै गएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि राससले समाचारको गुणस्तरीयता तथा विश्वसनीयतालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
बिदाइ हुनुभएका लेखा सहायक भण्डारीले सेवा अवधिभर राससमा आफूले जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्दै काम गरेको उल्लेख गर्दै आगामी दिनमा राससको प्रभावकारिता अझै बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
उपसमाचारदाता वासुदेव पौडेलले राससकर्मीले आफ्नो संस्थाप्रतिको दायित्व एवम् जिम्मेवारीलाई आत्मसात् गर्दै यसको गरिमा बढाउन क्रियाशील बन्नुपर्ने धारणा राख्नुभयो ।
राससकर्मी हरि बास्तोलाले आफ्नो सेवा अवधिमा आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ठ ढङ्गले बहन गर्नुभएका भण्डारीको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । कार्यक्रममा डिल्लीराम भण्डारी, भोला पौडेल, मङ्गलबहादुर जलाहारी लगायतले सेवानिवृत्त भण्डारीको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको कामना गर्नुभएको थियो । रासस
No comments:
Post a Comment