काठमाडौँ, ११ पुस । वाग्मती सफाइ महाअभियानको १३७औँ हप्तामा आज पशुपति क्षेत्रको आर्यघाटस्थित राममन्दिर परिसरमा सरसफाइ गरी १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा जति सफाइ गरे पनि न्यूनतम् मापदण्डमा स्थापित गर्न नसकिएकाले फेरि सफाइमा फर्कनुपरेको सफाइ अभियन्ता एलपी भानु शर्माले जानकारी दिनुभयो ।
विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि पशुपति क्षेत्र विकास कोष र सरकारका सरोकारवाला निकायका अधिकारी पनि आजको सफाइमा उपस्थित हुनुभएको थियो ।
सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव दिनेश थपलिया, कोषका सदस्य–सचिव डा गोविन्द टन्डन र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीलगायतका सरोकारवाला अधिकारीहरुले नियमित सफाइ गरी स्वच्छ पर्यटकीयस्थल बनाउन आवश्यक कदम चालिने बताउनुभएकोे थियो ।
सफाइसँगै कोषका सदस्य–सचिव डा टन्डन र कार्यकारी अधिकृत रमेश उप्रेतीले पशुपति क्षेत्रलाई दिनदिनै सफाइ गर्ने कार्ययोजना पेस गर्नुभएको थियो । कार्ययोजनामा एक महिनामा पशुपतिलाई सफा स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
तिलगङ्गा–गुह्येश्वरी नयाँ खोलिएको सडकलाई अघोषित डम्पिङ साइट बनाइएकाले त्यो हटाउन कोषले पहल गर्ने र त्यसको अनुगमन सफाइ महाअभियानले गर्ने निर्णय गरिएको अभियानकर्ता डा राजु अधिकारीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment