काठमाडौँ, ५ पुस । आठ वर्षअघि मन्त्रिपरिषद्ले निर्णय गरी भोगाधिकार दिएको जग्गामा वृद्धाश्रम, अस्पताल र हसपेस निर्माणको वातावरण मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरिएको छ ।
सुलक्षण कीर्ति विहार चोभारले समाज सेवाको उद्देश्यले निर्माण गर्न लागेको संरचनालाई केही व्यक्तिले रोकीरहेकाले त्यो हटाइदिन आग्रह गरिएको पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटी यस्तो आग्रह गरेको हो ।
प्रधानमन्त्री ओलीले कानुन सम्मत ढङ्गले निर्णय भई सामाजिक कामका लागि भोगाधिकार दिइएको जग्गामा अत्यावश्यक सेवाको अस्पताल निर्माण गर्न गरिएको अवरोध हटाउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
“नाफा कमाउने उद्देश्य नलिई सामाजिक सेवा गर्नका लागि धार्मिक संस्थाले निर्माण गर्न लागेको वृद्धाश्रम, अस्पताल र हसपेस केही व्यक्तिको निजी स्वार्थले रोकिएकाले निर्माणकार्य छिटो अघि बढ्ने व्यवस्था मिलाउन अनुरोध गरेका हाँै”– डङ्गोलले भन्नुभयो ।
विहारकी प्रमुख डा अनोजा गुरुमाले आठ वर्षअघि सरकारले भोगाधिकार दिएको २६ रोपनी जग्गा अहिलेसम्म उपयोगमा आउन नसकेकाले सेवा गर्ने अवसर पाऊँ भनी प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो ।
कीर्तिपुर नगरपालिका–१७ मा रहेको सो सार्वजनिक जग्गा विसं २०६४ मा मन्त्रिपरिषद्ले निर्णय गरी ३० वर्षको भोगाधिकार विहारलाई दिएको थियो ।
No comments:
Post a Comment