काठमाडौँ, २३ मङ्सिर । भूकम्पले घरबार भत्काएपछि जाडोबाट जोगिन मुस्किल भइरहेको दुखेसो भूकम्पपीडितले पोखेका छन् ।
सञ्चारिका समूहले आज राजधानीमा आयोजना गरेको ‘भूकम्पपछि पुनःनिर्माण गतिरोधले महिला र बालबालिकामा परेको असर’ विषयक अन्तरक्रियामा बोल्दै मखन काठमाडौँकी लक्ष्मी जोशीले आफू जोगिए पनि त्रिपाल र टिनको टहरामा छोराछोरीलाई जोगाउन समस्या परेको सुनाइन् ।
अर्की भूकम्पपीडित निर्मला ढुङ्गानाले महिलालाई त्रिपालको बसाइँ असुरक्षित भएको गुनासो गर्दै हुनुहुन्थ्यो ।
उहाँले भन्नुभयो – “जसोजतो वर्षा काटियो । जाडो पनि काटिएला तर, छोरीलाई कसरी जोगाउने ? एक त्रिपालमुनि सबै बस्नुपर्ने बाध्यताले छोरीलाई केही होला कि भन्ने डरले सताउन थालेको छ ।”
उहाँले भूकम्प प्रभावित क्षेत्रमा महिला यौन हिंसाको सिकार भएको समाचार पढेकाले आफ्ना छोरीलाई कसरी जोगाउने भन्ने कुराले पिरोल्न थालेको बताउनुभयो ।
सिन्धुपाल्चोकका सोमप्रसाद भण्डारीले भूकम्प गएको आठ महिना बित्न लाग्दा पनि सरकार पीडितको रमिता हेरी बसेको गुनासो गर्नुभयो ।
उहाँका अनुसार सरकारले छिटोछरितो पुनःनिर्माणको काम नगर्दा महिलामा असुरक्षाको भावना बढ्न गएको छ । भूकम्पपीडित महासङ्घका अध्यक्ष पनि रहेका भण्डारीले सरकारले नीति ल्याएर बसोबासको व्यवस्था गर्ने आशामा बसेको महिनौं बित्दा पनि केही काम नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “भूकम्पपीडित महिलाका श्रीमान् विदेश गएका कारण धेरै महिलाले परिरचयपत्र पनि पाउन नसकेको अवस्था छ । राहत त टाढाको कुरा भयो ।”
काठमाडौँका एलपी श्रेष्ठले टहरोमा सामूहिकरुपमा बस्दा बालिकालाई सुरक्षितरुपमा बचाई राख्न समस्या देखिन थालेको र विशेष अवस्थामा सुत्केरी महिलालाई जोगाउन अप्ठ्यारो परेको उल्लेख गर्नुभयो ।
पाटनकी विन्दिरा श्रेष्ठको भने आफूले अहिलेसम्म परिचयपत्र नपाएको गुनासो थियो ।
पीडितका कुरा सुनेपछि उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफूभन्दा अगाडिको सरकारले समयमा राहत दिन र पुनःनिर्माणको व्यवस्था गर्न नसकेको बताउनुभयो । अहिले देशको राष्ट्रिय अखण्डतामाथि भूकम्प गएको बताउँदै उहाँले भन्नुभयो – “सबैले यस समस्यासँग मिलेर जुझ्न कोसिस गर्नुपर्ने बताउनुभयो ।”
जनतामाथि अन्याय भएको थाहा पाएर पनि वर्तमान सङ्कटका कारण राहत र पुनःनिर्माणको कार्य ढिला भएको स्पष्ट पार्नुभयो ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुनःनिर्माण प्राधिकरण चाँडो बनाउनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment