काठमाडौँ, १७ मङ्सिर । भारतको नाकाबन्दी, मुलुकभित्रको आन्दोलन, महँगी, कालोबजारीजस्ता कुराले दिक्क भएका मानिसका लागि भृकुटीमण्डपमा १० दिनसम्म चलेको पुस्तक प्रदर्शनी निकै फलदायी रह्यो ।
‘रिड एन्ड ग्रो रिच’ पब्लिकेसनको आयोजनामा यही मङ्सिर ७ गतेदेखि सुरु भएको उक्त पुस्तक प्रदर्शनीमा पाठकको खोजी पनि उत्साह जगाउने खालका पुस्तकमा नै केन्द्रित भयो ।
“नाकाबन्दी, आन्दोलनलगायतले वाक्क बनाएको थियो”, प्रदर्शनीमा पुस्तक हेर्दै गर्दा भेटिनुभएका नारायण भट्टराईले भन्नुभयो– “केही कुरा पनि सहज नहुँदा अहिले हामीलाई केही शान्ति मिल्ने माध्यम चाहिएको थियो, यस प्रदर्शनीमा आउँदा पुस्तकबाटै भए पनि आनन्द र मनमा उत्साह जाग्ने हुनुप¥यो, त्यस्तै पुस्तकको खोजीमा छु ।”
उहाँले भन्नुभयो– “यस्तो अवस्थामा मानिस बढी आक्रोशित बन्न पुग्छ, कहिलेकाहीँ पुस्तकले मानिसलाई शान्त गराउन मद्दत गर्छ, यस प्रदर्शनीले युवालाई आक्रामक गराउनबाट मद्दत गर्छ भन्ने मैले विश्वास लिएको छु ।”
कोटेश्वरबाट गाडीको छतमा यात्रा गरी आउनुभएका सुगम निरौला र विकास निरौला पनि यस्तै खालको पुस्तकको खोजीमा हुनुहुन्थ्यो । “हामी समाजलाई परिवर्तन गर्न सक्ने सोच ल्याउने पुस्तक खोज्दै छौँ, कसैको जीवनीबाट पो प्रेरणा मिल्छ कि ? अथवा कसैको फिलोसोफी पढेर पो ज्ञान हासिल हुन्छ कि ? त्यसैको खोजीमा छौँ ।”, उहाँहरुले एकैसाथ थप्नुभयो ।
ललितपुरबाट प्रदर्शनीमा आइपुग्नुभएका नवराज भट्टराईलाई घरमा उदास भएर बस्न मन नलागेपछि प्रदर्शनीले तानेको थियो । “प्रदर्शनीमा एउटा पुस्तक किनेपछि त्यसलाई पढिन्छ, केही न केही ज्ञान त पाइन्छ नि”–उहाँले भन्नुभयो ।
प्रदर्शनीमा विशेष गरी उत्साह र नयाँ पुस्तालाई सकारात्मक सोचतर्फ प्रोत्साहित गर्ने खालका पुस्तक बढी बिक्री भएको प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभयो । स्वयम् प्रसाईंद्वारा लिखित ‘एस आई क्यान’ र ‘हजारौँ आशा’, मोहनकृष्ण श्रेष्ठको ‘कूटनीतिमा तीन दशक’, रामचन्द्र भट्टको पुस्तक ‘उपनिषद्मा के छ ?’, जीवनकुमार प्रसाईंको ‘जीवन जिउने काइदा’ जस्ता पुस्तकले बढी पाठक पाएका थिए ।
प्रदर्शनीमा रु ५१ लाखभन्दा बढीको पुस्तक बिक्री भएको संयोजक प्रसार्इंले जानकारी दिनुभयो । प्रदर्शनीमा १५ देखि १८ प्रतिशतसम्म छुट दिइएको थियो । एक सयभन्दा बढी प्रकाशकको सहभागिता रहेको उक्त प्रदर्शनीमा करिब आठ हजारभन्दा बढी शीर्षकका पुस्तक राखिएको थियो ।
झुमाको ‘अम्बर सङ्गीत’
झुमा लिम्बूको स्वर अम्बर गुरुङको सङ्गीत र शब्द रहेको गीतिसङ्ग्रह ‘अम्बर सङ्गीत’ को आज विमोचन गरिएको छ ।
शिल्पी थियटरको आयोजनामा यहाँ भएको कार्यक्रममा गीतिसङ्ग्रहको विमोचन गर्दै गुरुङले आफूले सङ्गीत यात्रामा बटुलेका अनुभव युवा पुस्तामा साट्न चाहेको बताउनुभयो ।
सो अवसरमा सङ्ग्रहमा रहेको ‘पहरामा फूल फुल्यो…’ बोलको गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । उक्त गीतमाथि समीक्षा गर्दै चलचित्र निर्देशक नारायण पुरीले उक्त म्युजिक भिडियो ‘लघु गीति चलचित्र’ जस्तो भएको बताउनुभयो । विसं २०५७ देखि सङ्गीत यात्रा सुरु गर्नुभएका झुमाले २०६० सालदेखि गुरुङसँग सङ्गीत सिक्नुभएको थियो । रासस
No comments:
Post a Comment