काठमाडौँ, १७ मङ्सिर । नाकाबन्दीपछि बढी मूल्यमा खाने तेल बिक्री गरेको आरोपमा प्रहरीले केएल दुगड समूहको कोटेश्वर, जडीबुटीमा रहेको गोदाममा छापा मारी पाँच ट्रक बराबरको खाने तेल सिलबन्दी गरेको छ ।
महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार नाकाबन्दी अघि रु १२० प्रतिलिटर थोक मूल्य रहेको ‘धारा’ तेल अहिले रु ३०० सम्म लिएर बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो । प्रहरीले गोदामका प्रबन्धक अमन जैन र समन्वयकर्ता प्रमोद अधिकारीलाई पनि पक्राउ गरेको छ ।
सो समूहका प्रमुख कृष्णलाल दुगड फरार रहेको र उनको खोजी जारी छ । गोदाममा आज तेल कब्जा गरेर राखिएको र शुक्रबार त्यसबारे थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
नाकाबन्दीपछि सर्वसाधारणको चुल्होसमेत बल्न नसकिरहेका अवस्थामा दैनिक उपभोग्य वस्तुको ३०० गुणासम्म बढी मूल्य लिएर बिक्री गरी कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
दैनिक उपभोग्य वस्तुको केही सीमित व्यापारीले ठूलो मात्रामा भण्डारण गरेर राखी मनलाग्दी मूल्य बढाएका कारण बजारमा महँगी बढेपछि त्यसलाई नियन्त्रण गर्न परिसरले अभियान नै सुरु गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । अभियान अन्तर्गत प्रहरीले नाकाबन्दीपछि मूल्य बढाएका अन्य उत्पादनको समेत निगरानीमा राखेर अनुसन्धान सुरु गरेको छ । रासस
No comments:
Post a Comment