काठमाडौँ, १८ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले एकता आवश्यक छ ।”
महामन्त्री सिटौलाले अघिल्लो संविधानसभाको असफलतालाई हटाउनु र काँग्रेसको महाधिवेशनलाई वैधानिकता दिनका लागि संविधान निर्माणमा हतारिनु परेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानका बारेमा नेपाली सञ्चारमाध्यमले प्रचारप्रसार गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको वास्तविक समस्या के हो भन्नेबारेमा सञ्चारमाध्यामले नियाल्नु जरुरी भएको स्पष्ट पार्नुभयो ।
नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले नेपालको राष्ट्रियता हिमाल, पहाड र तराई भएकाले तराईको समस्या हल गरे मात्र सच्चा राष्ट्रवाद हुने बताउनुभयो ।
उहाँले मधेस आन्दोलनमा तराईका सञ्चारकर्मीले भोगेको समस्याका बारेमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले संविधान परिवर्तन हुँदै जाने भएकाले यसका बारेमा आम नेपालीलाई बुझाउनु आवश्यक भएको स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले संविधानको राम्रा र नराम्रा पक्षको बारेमा नेपाली सञ्चारमाध्याममा नआउनु दुःखद पक्ष भएको बताउनुभयो । उहाँले संविधान निर्माणमा सञ्चारकर्मीसँग राय नलिँदा यस्तो परिस्थिति सिर्जना भएको स्पष्ट पार्नुभयो ।
वरिष्ठ पत्रकार कवीर राणाले संविधान निर्माणपछि संविधान बोकेर जनतामाझ जान नसक्दा यस्तो समस्या उत्पन्न भएको बताउनुभयो ।
अन्तरक्रियामा शाखाका अध्यक्ष नकुल अर्याल, पत्रकार गोकर्ण अर्याल, शिव लम्साल, ईश्वरी ओझा, ऋषि धमला, विष्णु बुढाथोकी, वीरेन्द्र केएम, शिरोमणि ढुङ्गाना, जगन्नाथ दुलाल, बाला अधिकारी, गीता मैनाली, सचिता बुढाथोकी, राधा चालिसे, निरज खतिवडा, डिल्ली सापकोटालगायतले मधेस नेपाली काँग्रेसको किल्ला भएकाले मधेसीका जायज मागलाई सम्बोधन गरेर देशलाई समृद्धको बाटोमा अगाडि लैजाने पार्टी काँग्रेस भएकाले यसलाई पार्टीले गम्भीर रुपमा लिनु जरुरी रहेको बताउनुभयो ।
No comments:
Post a Comment