भीमदत्तनगर, १७ पुस । भारतको अघोषित नाकाबन्दीको बेला सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा ५० किलो चामलको मूल्य रु एकहजार ९०० सम्म पुग्यो । नाकाबन्दी अघि उक्त चामलको मूल्य रु एकहजार ५०० थियो । तर पछिल्ला दिनमा इन्धनको केही सहज आपूर्ती हुँदा समेत व्यापारीहरुले मूल्य वृद्धिलाई यथावत राख्दा सेवाग्राही मारमा परेका छन् ।
चामलमा मात्रै होइन बझाङमा यतिबेला हरेक दैनिक उपभोग्य सामानदेखि अन्य बस्तुमा व्यापारीले मनोमानी रुपमा मूल्य बढाउँदै लगेका छन् । तर स्थानीय प्रशासन यसप्रति मौन छ । बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पछिल्ला दिनमा ढुवानी बढेको बताउनुभयो । “पहिले बझाङ्मा दैनिक दुई÷तीनवटा मालबाहक गाडी मात्रै आउँथे” चैनपुरका व्यापारी रमेश मल्लले भन्नुभयो, “अहिले दैनिक एकदर्जन बढी सवारी साधनमा सामान आयात हँुदैछ ।”
इन्धनको सहज आपूर्ति हुँदा समेत ढुवानीकर्ताले यसअघिकै ढुवानी शुल्क असुलेका कारण व्यापारी महँगोमा सामान खरिद बिक्री गर्न बाध्य छन् । “प्रति ट्रक भाडा रु ३५ हजार भए पनि अहिलेसम्म ट्रक व्यवसायीले रु ५० हजारसम्म असूल गरिरहेका छन्” मल्लले भन्नुभयो । ढुवानी शुल्क महँगो भएकाले सामानको मूल्य बढेको हो ।
कैलालीको धनगढीमा उत्पादन भई बझाङमा खपत हुने विभिन्न कम्पन्नीका तेल पनि जिल्लामा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । अहिले दैनिक उपभोग्य सामानका साथै निर्माण सामग्रीमा समेत मूल्य वृद्धि भएको छ । जिल्लाका विकट गाउँमा मूल्य वृद्धि झन बढीरहेको स्थानीय उपभोक्ताको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले व्यापारीले मूल्य वृद्धि गरी उपभोक्तालाई ठगी गरेको पाइए कानुनी कारबाही गरिने बताउनुभयो । “स्थानीय व्यापारीसित समन्वय गरिरहेका छौँ, बजार अनुगमनमा तीव्रता दिन्छाँैं” उहाँले भन्नुभयो । रासस
–––
No comments:
Post a Comment