काठमाडौँ, १७ पुस । चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका मानिस बिरामी पर्ने र मृत्यु हुने अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले औषधि र चिकित्सकसहितको टोली भूकम्प प्रभावित जिल्लामा खटाएको छ ।
गएको वैशाख १२ र २९ गतेको महाभूकम्पका कारण घर भत्किएपछि त्रिपाल र जस्ताका टहरामा बस्ने पीडितहरु बिरामी परेका छन् भने दुई दर्जनभन्दा बढीको मृत्यु पनि भएको छ ।
स्वास्थ्य मन्त्री रामजनम चौधरीले भूकम्पप्रभावित जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “हामी सचेत छौँ, त्यसैले औषधिसहित चिकित्सकको टोलीलाई निःशुल्क उपचारका लागि खटाइसकिएको छ ।” उहाँले औषधि र चिकित्सक नपुगेकामा मन्त्रालयको हेल्प डेक्समा फोन गर्न पनि आग्रह गर्नुभयो । सरकारले औषधि अभाव भएपछि त्यसको सहजताका लागि १६६०–०१३३४४४ नंको पैसा नलाग्ने टल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
यता, बजारमा औषधिको पनि उपलब्धतामा सहजता आउन थालेको औषधि विभागले जनाएको छ ।
औषधि व्यवस्था महाशाखाका महानिर्देशक बालकृष्ण खकुरेलले अहिले वीरगन्जबाहेकका अन्य नाका सहज भएकाले अहिले रोकिएका औषधि आइरहेकाले औषधिको खासै अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो – “तेस्रो मुलुकबाट अस्पतालका लागि आवश्यक उपकरणबाहेक औषधि भने पहिलेको तुलनामा आइरहेको छ । त्यसकारण बीचमा भएको जस्तो अभाव पहिलेको तुलनामा सहज भएको छ ।”
औषधि भित्रिरहेको भएपनि इन्धनको समस्या भएकाले यातायातका साधन नचल्दा जिल्लामा भने औषधिको सहज वितरण गर्न समस्या भइरहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले भारतले गरेको अघोषित नाकाबन्दीका कारण नाकाबाट औषधि नेपाल भित्रिन नसकेपनि द्रुतमार्गबाट औषधि ल्याउन टेन्डर आह्वान गरी परेका टेन्डरको मूल्याङ्कन सुरु गरिसकेको महानिर्देशक खकुरेलले जानकारी दिनुभयो । उहाँले औषधि आइपुग्न अझै एक महिना लाग्न सक्ने पनि बताउनुभयो । रासस
No comments:
Post a Comment