Sunday, January 24, 2016

सम्पदा पुनःनिर्माण गर्ने दक्ष जनशक्तिलाई तालिम

काठमाडौँ, १० माघ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाको पुनः निर्माण गर्ने जनशक्ति तयार पार्न तालिम दिइएको छ ।

नर्वेली सरकारको सहयोगमा पुरातत्व विभागले सम्पदास्थलका ढुङ्गा र काठलाई पुरानै स्वरुप दिने सीप सिकाउन ३० जनालाई तालिम दिएको हो । यसका साथै काष्ठकला संरक्षण गर्ने सीप पनि सिकाइएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।

“पुरातात्विकस्थलको महत्वपूर्ण संरचना संरक्षण गर्न सुरक्षित स्थानमा राख्ने काम पनि गरिएको छ, यसबीचमा स्वयम्भूको शान्तिपुरमा अवस्थित ऐतिहासिक भित्तेचित्र राष्ट्रिय सङ्ग्रहालयमा लगी सुरक्षित गरिएको छ, बागदरबारबाट पनि विश्वरुपको दुर्लभचित्र सङ्ग्रहालयमै संरक्षण गरिएको छ”–उहाँले भन्नुभयो ।

भूकम्पले भत्किएका ४३ वटा सम्पदा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्न लागिएको विभागले जनाएको छ । जसमध्ये स्वयम्भूको आनन्दकुटी बिहार श्रीलङ्का सरकारको अनुमानित रु २० करोडको लागतमा निर्माण हुने भएको छ । यसको बोलपत्र आह्वान गर्न लागिएको महानिर्देशक दाहालले बताउनुभयो ।

श्रीलङ्काकै रु पाँच करोड आर्थिक सहयोगमा ललितपुरको रातो मच्छेन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण सुरु भएको छ । चालु आर्थिक वर्षमा पुरातात्विक सम्पदा संरक्षण एवम् जीर्णोद्धार र पुनःनिर्माण गर्न रु ७५ करोड बजेट छुट्याइएको प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी दिनुभयो ।

“पुनःनिर्माणका लागि जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ, विभागमा हाल १७ जना इञ्जिनियरको मात्र दरबन्दी भएकाले ४० जना आर्किटक्चर इञ्जिनियर, सिभिल इञ्जिनियर १० जना र १५ जना सव इञ्जिनियर भर्ना गर्न लागिएको छ”–उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts