विराटनगर, १२ माघ । मोरङको लेटाङ भोगटेनी–६ का कमल राई मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उहाँको जीवनशैली नै फेरिएको छ ।
मौरी व्यवसायबाट बर्सेनि सरदर रु पाँच लाख आम्दानी भएपछि उहाँको जीवनशैली नै फेरिएको हो । सात वर्षअघि झापाबाट सात घार मौरी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका राईसँग अहिले ४० घार छन् । एक वर्षमा १० देखि १४ क्विन्टल मह उत्पादन गरेर उहाँले वर्षमा रु पाँच लाख बचत गर्नुहुन्छ । झापा र मोरङको बजारमा प्रतिकिलो रु ६०० का दरले मह बिक्री हुन्छ ।
मौरीलाई चरनको कुनै समस्या नरहेको उहाँको भनाइ छ । वर्षायामको समयमा मौरी पाल्न केही कठिनाइ हुने गरेको र सो अवधिमा चिनीको चास्नी बनाएर खुवाउने गरेको उहाँ बताउनुहुन्छ । भारतमा वर्षौदेखि रोजगारी गर्दै आएका लेटाङ– ७ का राम राई पनि मौरीपालनतर्फ आकर्षित हुनु भएको छ । नौ महिनादेखि यस व्यवसायमा जुटेका उहाँसँग यतिखेर १० घार मौरी रहेका छन् ।
लेटाङ– ४ राजारानीमा होमस्टे सञ्चालन गर्दै आउनुभएका दलबहादुर रानामगरले तेह्रवटा मौरीको घार राख्नुभएको छ । उहाँ वार्षिक तीन क्विन्टल मह उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । मोरङमा ५०० किसान मौरीपालनमा संलग्न रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एकतीस सेरेना र मेलीसेरा जातको मौरी पालन हुने गरेको छ ।
यी दुइटै जातको मौरीबाट गत वर्ष यस जिल्लामा ३३ दलमलव ३ मेट्रिक टन मह उत्पादन भएको कार्यालयका बाली संरक्षण अधिकृत सागर भट्टराईले जानकारी दिनुभयो । स्थानीय जातका सेरेनाबाट प्रतिघार आठ देखि १० किलो र उन्नत जातका मेलीसेराबाट प्रतिघार ३० किलोसम्म मह उत्पादन हुने गरेको छ । रासस
––––––
No comments:
Post a Comment