Tuesday, January 26, 2016

‘स्यान्ड प्ले थेरापी’ मानसिक तनाव कम गर्न उपयोगी

काठमाडौँ, १२ माघ । भूकम्पका कारण बालबालिकामा पर्न गएको मानसिक तनावलाई कम गर्ने उद्देश्यका साथ नेपालमा ‘स्यान्ड प्ले थेरापी’ सुरु भएको छ ।

नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रमा डा सिर्जना थापाले गत वैशाखमा गएको भूकम्पले अझै धेरै बालबालिकामा मानसिक त्रास कायमै देखिएकाले यो सेवा सुरु गरेको बताउनुभएको हो ।

डा थापाले यो सेवा अन्य मानिसले पनि लिन सकिने बताउँदै बालुवामा खेलेर लिनसक्ने भएकाले बालबालिकाको लागि बढी प्रभावकारी रहेको जानकारी दिनुभयो ।

कोरिया सोसाइटी अफ स्यान्ड प्ले थेरापीका अध्यक्ष डा ज्याङ मिकुङले बालुवामा बसी विभिन्न किसिमको चित्र बनाई मानसिक तनावलाई बिर्सन सक्ने भएकाले यो उपचार पद्धति राम्रो रहेको बताउनुभयो ।

डा ज्याङ मिकुङले केही वर्षअघि कोरियाका बालबालिकालाई यस उपचार पद्धतिले विभिन्न किसिमको तनावबाट मुक्त गराएकाले नेपालमा सुरु गरेको जानकारी दिनुभयो ।

यस सेवालाई विस्तार गर्नको लागि कोरियाको नाम्सेयुल विश्वविद्यालयबाट एक नेपालीसहित १६ जनाको टोली नेपाल आएका छन् ।

यो सेवा नेपालमा पहिलोपटक गत भदौ महिनामा भक्तपुरको विद्याआर्जन स्कुलमा ४५ जना बालबालिकालाई दिइएको थियो । प्रभावकारी भएको भन्दै बालबालिका, शिक्षक र अभिभावकले थप माग गरेकाले पुनः सञ्चालन गर्न लागिएको डा मिकुङले बताउनुभयो ।

अहिले काठमाडौँ उपत्यकामा र पछि उपत्यका बाहिरसमेत यस सेवालाई विस्तार गर्ने बताइएको छ ।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले यस सेवालाई विस्तार गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts