दाङ, १६ माघ । रोजगारीको सिलसिलामा विदेशमा रहेका र जिल्लामै रहेका २२ जना सात्यिकारले लेखेको गजल सङ्ग्रह ‘शुभारम्भ’को आज विमोचन गरिएको छ ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले प्रकाशन गरेको गजल सङ्ग्रहको विमोचन प्रगतिशील लेखक सङ्घ दाङका पूर्व अध्यक्ष रामप्रसाद जैसीले गर्नुभएको हो ।
सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता एवम् प्रलेसका पूर्व अध्यक्ष रामप्रसाद जैसीको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा बोल्ने र रचना वाचन गर्ने स्रष्टाहरुले देशको विषम परिस्थिति, अभाव, कालोबजारी, वैदेशिक रोजगारीमा रहँदाको पीडा पोखेका छन् ।
कार्यक्रममा पोखराथोक साहित्य सङ्गम पाल्पाका अध्यक्ष गङ्गानाथ कोइराला, शिवगढी साहित्य सङ्गम कपिलवस्तुका अध्यक्ष अर्जुन पौडेल, साहित्यकार नारायण योगी, मेदनीकुमार केवल, उदय आले, पत्रकार राधेश्याम गुप्ता, भावना न्यौपानेलगायतका वक्ताहरुले मन्तव्यका साथै रचना वाचन गर्नुभएको थियो । प्रकाशित कृतिको समीक्षा साहित्यकार टीका बस्नेतले गर्नुभएको थियो । रासस
No comments:
Post a Comment