Tuesday, January 5, 2016

संविधानको कार्यान्वयन गर्नु अबको चुनौती

काठमाडौँ, २१ पुस । संविधानमा समावेश भएका सम्पूर्ण महिला अधिकारको विषयलाई कार्यान्वयनमा ल्याउनु अबको चुनौती रहेको महिला अधिकारकर्मीले बताएका छन् ।

संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले लामो सङ्घर्षपछि प्राप्त भएको नेपालको संविधान–२०७२ लाई महिलामैत्री संविधान भन्दै यसको सही तरिकाबाट पालना गर्नु सबै नेपाली महिलाको कर्तव्य रहेकोमा जोड दिनुभयो ।

आज यहाँ राष्ट्रिय महिलाअधिकार मञ्च, होमनेट नेपाल र एक्सनएड नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधानमा महिला अधिकार र कार्यान्वयनका चुनैती र अवसर’ विषयक कार्यशालामा राष्ट्रिय महिला आयोगका अध्यक्ष मनु हुमागाईंले संविधानमा समावेश भएको महिला अधिकारको विषयलाई कार्यान्वयन गर्नु अबको प्रमुख चुनौती रहेको बताउनुभयो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले विश्वको संविधानको तुलनामा नेपालको संविधान उत्कृष्ट रहेको भन्दै यसले सबैभन्दा बढी महिलाको हक र अधिकारलाई समावेश गरेको जानकारी गराउनुभयो ।

अधिवक्ता इन्दु तुलाधरले संविधानको कार्यान्वयन र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै महिलाको लागि संविधानमा व्यवस्था भएका सबै हक र अधिकारको परिपालना गर्दा कुनै समस्या उत्पन्न भएमा सरोकारवाला पक्षलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

सहभागीले संविधानको बारेमा धेरैलाई जानकारी नभएकाले महिला अधिकारकर्मीले यस विषयमा जानकारी दिनको लागि ग्रामीण भेगमा यस विषयसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts