बुटवल, ११ माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चाले राखेका माग पूरा भएको बताउनुभएको छ ।
उहाँले संविधान संशोधनबाट जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी सिद्धान्तका माग पूरा भएको समेत बताउनुभयो । अरु जायज माग पनि वार्ता र छलफलबाटै पूरा गर्नेतर्फ सरकार गम्भीर भएर लागेको बताउँदै रक्षामन्त्री रावलले भूकम्पले थिलोथिलो भएको मुलुक र पीडित नेपालीलाई अरु धेरै मर्कामा नपार्न आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।
रुपन्देही व्यापार सङ्घको चौधौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै रक्षामन्त्री रावलले विद्यमान समस्या समाधानका लागि सरकार गम्भीरताका साथ लचिलो भएर प्रस्तुत भएको र मोर्चाबाट पनि त्यस्तै भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक अफ्ठ्यारोमा परेको बेलामा असली शुभेच्छुक र इमान्दार देशप्रेमीको पहिचान हुन्छ ।”
वर्तमान अवस्थामा जनताले देखाएको सद्भाव, सहनशीलता, धैर्यता र अनुशासन स्वागतयोग्य रहेको उल्लेख गर्दै मन्त्री रावलले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर जनतामा राहतको अनुभूति गराउन जरुरी रहेको बताउनुभयो । नब्बे प्रतिशत समझदारीमा आएको संविधानलाई हतारको दस्तावेजको रुपमा लिनु मूर्खता भएको टिप्पणी गर्दै मन्त्री रावलले जनपक्षीय संविधानको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।
विश्वकै ठूला र लोकतान्त्रिक मुलुक मानिने भारत र अमेरिकामा पनि संविधान जारी गर्दा मुस्किलले जनमत प्राप्त भएको उल्लेख गर्दै मन्त्री रावलले भन्नुभयो, “भारतको संविधान निर्माणमा ६५ प्रतिशत र अमेरिकाको संविधान निर्माणमा ५५ प्रतिशतको मात्रै सहमति थियो । यसबाट प्रष्ट हुन्छ, मुलुकको संविधान विश्वको कुनै पनि संविधानभन्दा उत्कृष्ट र समावेशी छ ।”
आठ वर्षको पहलकदमीबाट आएको संविधानलाई हल्का तरिकाले लिन नहुने उहाँको भनाइ थियो ।
“संविधानको कुनै धारा उपधारामा कमिकमजोरी छन् भने बसेर छलफल गरौँ,” उहाँले भन्नुभयो – “तर माग पूरा नभएको नाममा जनतालाई सास्ती दिन हँुदैन । पहिलो संशोधनबाट धेरै मुद्दा सम्बोधन भएको छ ।” सद्भाव र एकता बिथोल्ने गरी सीमामा पलेटी कसेर नेपालतर्फ ढुङ्गा हान्दैमा निकास ननिस्कने बताउँदै उहाँले नाका आन्दोलन छाडेर सहमतिमा आउनसमेत आग्रह गर्नुभयो ।
सीमामा भइरहेको अवरोध हटाउन भारतसँग कूटनीतिक छलफल भइरहेको बताउँदै उहाँले
विदेशी राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्न नेपालले उल्लेखनीय काम भइरहेको र प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्ने जानकारी गराउनुभयो ।
उक्त अवसरमा सङ्घले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार विष्णु घिमिरे र उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार भगवती पाण्डेलाई प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment