काठमाडौँ, १६ माघ । सहिदका नाममा काठमाडौँको गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकको छिट्टै निर्माण गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
सहिद दिवसको उपलक्ष्यमा आज गोकर्णमा आयोजना गरिएको कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले स्मारक निर्माणमा अवरोध गर्ने र काम नगर्ने दुवैलाई कारबाही गरिने बताउनुभयो ।
देश विकास नभई सहिदको सम्मान नहुने भएकाले विकासको बाटोमा जुट्न एकता हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । भूमिगत र अर्धभूमिगत रुपमा रही आन्दोलन गरिरहेकालाई वार्तामा आउन पनि मन्त्री ढकालले अनुरोध गर्नुभयो ।
कार्यक्रममा सांसद जयदेव जोशीले सहिदका सपना पूरा गर्न सबैको योगदान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “साना कुरामा विवाद गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाइनु हुन्न, यसमा सबै दलको ध्यान जान आवश्यक छ” – उहाँले भन्नुभयो ।
सांसद रामेश्वर फुयाँलले स्मारक सबै दलको एकतामा अघि बढिरहेकाले थपिएको समयमा सम्पन्न गर्न सरोकारवाला सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
पूर्व सांसद एवम् सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोग गठन हुन नसक्दा पीडितले न्याय नपाएको गुनासो गर्नुभयो ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देल र महासचिव त्रिलोचन पौडेलले निर्माण कार्यमा मन्त्रालय, आयोजना र पार्क निर्माण तथा व्यवस्थापन समिति सबैको सहयोग जरुरत रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री ढकालले पार्क क्षेत्रभित्र निर्माण हुने जैविक विविधता, वन तथा वातावरण एवम् शैक्षिक सूचना केन्द्र र इलाका रेन्जपोष्ट कार्यालय भवनको शिलान्यास गर्नुभयो ।
मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत रु ४६ करोड ७१ लाखको लागतमा स्मारक निर्माण भइरहेको छ । रासस
No comments:
Post a Comment