चौतारा, १६ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको ठोकुवा गर्दै जनताबीचको अन्तरविरोध, विमति र नमिलेका कुरा साझा संयन्त्र बनाई समाधान गर्न सकिने बताउनुभएको छ ।
एकीकृत नेकपा (माओवादी) चौतारा नगर समितिको प्रथम नगरसम्मेलनको आज चौतारामा उद्घाटन गर्दै मन्त्री बस्नेतले केही राजनीतिक पार्टीले समस्याको समाधान नचाहेको भन्दै मधेसवादी दलतर्फ इङ्गित गर्दै समस्याको समाधानभन्दा समस्यालाई टिकाइराख्ने काममा लागेको आरोप लगाउनुभयो ।
मधेसी मोर्चाको नाकाबन्दीले हिमाल र पहाडका जनतालाई मात्र नभई तराईका जनतालाई पनि समस्या पारेकाले कहिलेकहिँ धेरैको भलोको लागि सरकारले अप्रिय कदम चाल्न पनि बाध्य हुने चेतावनी दिनुभयो ।
भूकम्प पीडितका लागि स्थानअनुसारको डिजाइन तयार पारी पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुनेगरी पुनर्निर्माणको अभियान अगाडि बढाउने उहाँले जिकिर गर्नुभयो ।
भूकम्पले दुःख र पीडा दिई ठूलो क्षति पु¥याएपनि दुःखलाई सुखमा परिणत गर्नु आजको आवश्यकता रहेको चर्चा गर्दै मन्त्री बस्नेतले सबै राजनीतिक पार्टीले पारदर्शीताका साथ आर्थिक विकासतर्फ स्वस्थ प्रतिष्पर्धामा उत्रेमा नयाँ नेपाल बन्न सक्ने ठोकुवा गर्नुभयो । रासस
No comments:
Post a Comment