काठमाडौँ, २२ पुस । नेपाली सेनाले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी (२८ किमी) सडकअन्तर्गतको सडक खण्डमा गएको पहिरो सफा गर्ने कार्य यही पुस २८ गतेदेखि सुरु गर्ने भएको छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध हुन पुगेको थियो । बाँकी सडक खण्डमा ट्र्याक खोल्ने काम द्रुतगतिमा गरिराखेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका सहायक रथी उद्धव विष्टले आज जानकारी दिनुभयो ।
आव २०७३÷०७४को अन्त्यसम्ममा सो काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनालाई निर्देशन दिएको छ ।
सो सडकखण्डअन्तर्गत पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जको रुख कटानी, विष्फोटक पदार्थको अभाव, इन्धन अभाव तथा मन्त्रालयबाट आवश्यक बजेट विनियोजन नभएका कारण सेनालाई सो खण्डमा सडक निर्माणमा समस्या परेको उसले जनाएको थियो ।
व्यवस्थापिका–संसद्को विकास समितिको बैठकमा नेपाली सेनाले विकास निर्माणअन्तर्गत गरिरहेको कामका बारेमा जानकारी दिँदै सहायक रथी विष्टले पुस २८ गतेदेखि पहिरो सफा गर्ने काम सुरु गर्न लागिएको र बाँकी सडक निर्माण गर्न थप फौज परिचालन हुने जानकारी दिनुभयो ।
पहिरो सफा गर्न र सडक निर्माण गर्न तत्काल रु पाँच करोड आवश्यक हुने उहाँले जानकारी दिनुभयो । सहायक रथी विष्टले सडक निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ र इन्धनको व्यवस्था मिलाइदिन पनि सरकारसँग मागसमेत गर्नुभयो ।
सहायक रथी विष्टले विकास निर्माण निर्देशनालयले हालसम्म देशका विभिन्न स्थानमा एक हजार १७८ किमी सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको र हाल जाजरकोट–डोल्पा, कालीगण्डकी करिडोर, कर्णाली करिडोरमा पनि सडक निर्माणमा संलग्न भइराखेको जानकारी दिनुभयो ।
आवश्यक स्रोतको अभाव हुन नदिइने
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले अप्ठ्यारो र प्रतिकूल अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्न राज्यले सुम्पेको दायित्वलाई नेपाली सेनाले कुशलतापूर्वक निर्वाह गरिराखेको बताउनुभयो । उहाँले राज्यले सुम्पेको दायित्व पूरा गर्न सेनालाई आवश्यक पर्ने स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद जनार्दन ढकालले नेपाली सेनाले सडक निर्माणमा उत्कृष्ट कार्य गरिरहेको हुँदा थप सडक निर्माणमा पनि सेनालाई संलग्न गराउनु पर्दछ भन्नुभयो ।
सांसद रामकुमार भट्टराईले सेनालाई अप्ठ्यारो र प्रतिकूल अवस्थामा मात्र पूर्वाधार विकासमा सहभागी नगराई सजिलो स्थानमा पनि पूर्वाधार विकासमा सहभागी गराइनुपर्छ भन्नुभयो ।
सांसद वैजनाथ चौधरी र रामकृष्ण घिमिरेले सेनालाई विकास निर्माणमा सहभागी गराउँदा छिटो र सस्तो दुवै हुने देखिएको हुँदा थप विकासका आयोजना निर्माण कार्यमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।
रक्षा मन्त्रालयका सचिव जयमुकुन्द खनालले सेनालाई भौतिक पूर्वाधार निर्माण गर्दा आइपर्ने समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय गर्ने र बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणका लागि तत्काल रु पाँच करोड विनियोजन गर्न लागिएको जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले भौतिक पूर्वाधार विकासमा वजेटको अभाव हुन नदिइने जानकारी दिनुभयो ।
तत्काल काम सुरु गर्न समितिको निर्देशन
गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ्–स्याफ्रुबँेसी–रसुवागढी सडकखण्डको सडक निर्माण तथा स्तरोन्नति गर्न आर्थिक स्रोतको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन समेत दिएको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले सो निर्देशन दिँदै यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई आग्रहसमेत गर्नुभयो । रासस
No comments:
Post a Comment