धुन्चे (रसुवा), ७ फागुन । गत वैशाख १२ को भूकम्पले क्षति पु¥याएको लाङटाङ क्षेत्रमा संरक्षणका कार्यक्रम अगाडि बढाइएको छ ।
भूकम्पसँगै आएको हिमपहिराले लाङटाङभित्रको लाङटाङ गाउँ पूरै पुरिँदा ठूलो सङ्ख्यामा जनधनको क्षति हुनाका साथै हजारौँ हेक्टर वनजङ्गल जोखिममा परेको, कैयौँ हिमचितुवालगायत वन्यजन्तु बेपत्ता भएका कारण सबै कुराको पुनःनिर्माण गरी संरक्षण प्रभावकारी बनाउन युएसएआइडी ले आफ्नो सहयोेगमा हरियो वन कार्यक्रम र लाङटाङ राष्ट्रिय निकुञ्ज÷मध्यवर्ती क्षेत्र सहयोग आयोजना (डब्लुडब्लुएफ)ले संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।
डब्लुडब्लुएफका कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार भूकम्पपछि कायम रहेका ११६ घरपरिवार लाङटाङवासीलाई सौर्य ऊर्जाको व्यवस्थापन, हिमचितुवा संरक्षण, बिग्रेका सबै खाले संरचनाको व्यवस्थापन, कामका लागि नगद, सुधारिएको चुल्हो, वैकल्पिक ऊर्जा, सरसफाइ र स्मृति उद्यान निर्माण, शुद्ध खानेपानीको व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्ने भई लारानि मध्यवर्ती क्षेत्रको लाङटाङ उपभोक्ता समितिमार्फत काम गराउन जिम्मा दिइएको छ ।
आगामी जेठसम्म सम्पन्न गरिने उपर्युक्त कार्यक्रम सञ्चालनका लागि रु एक करोड आठ लाख ९० हजार खर्च गरिने छ । त्यसको व्ययभार हरियो वन कार्यक्रम र डब्लुडब्लुएफले गर्ने भएका छन् । ती सबै कार्यक्रम सञ्चालन गर्दा स्थानीयवासी नै सहभागी हुनुपर्ने छ । स्थानीयस्तरका व्यक्ति उपलब्ध हुन नसके छिमेकी गाविसका व्यक्तिलाई कामदारका रुपमा लगाउनुपर्ने कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । रासस
No comments:
Post a Comment