काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि राष्ट्रिय चासो र स्वार्थको संरक्षणका सन्दर्भमा मुलुकभित्र विश्वास जुटाउने क्रममा मङ्गलबार व्यवस्थापिका–संसद्को छलफलमा भाग लिनुहुने भएको छ ।
मुलुकका कार्यकारी प्रमुखको मित्रराष्ट्रको भ्रमणपूर्व व्यवस्थापिका–संसद्मा छलफल गर्ने परम्परालाई अझ व्यावहारिक र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीले तयारी गर्नुभएको बुझिएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिलाविज्ञ गोपाल खनालले प्रधानमन्त्री ओलीले भ्रमणमा जानुअघि मुलुकभित्रका सबै राजनीतिक दलसँग परामर्श गरेर राष्ट्रिय चासो र स्वार्थको संरक्षणमा आपसी परामर्श गरी विश्वास जगाउने क्रममा संसद्मा छलफल होस् भन्ने चाहना राख्नुभएको बताउनुभयो ।
सन्धि सम्झौता नहुने
यसअघि प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारीका क्रममा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत संसद्मा भएका दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञलगायतसँग छलफल गरिसक्नुभएको छ । परराष्ट्रविज्ञ खनालले रासससँग भन्नुभयो, “यो मूलतः दुई देशको सम्बन्धमा देखिएका असहजतालाई सामान्यीकरण गर्ने राजनीतिक प्रकारको भ्रमण हो, यसले सम्बन्धलाई पुनःस्थापित गर्नेछ ।” खनालका अनुसार भ्रमणमा दुई देशबीच महत्वपूर्ण सवालमा सन्धि सम्झौता हुने सम्भावना छैन ।
नेपालमा गत असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि केही विषयमा भारतको चासो र असन्तुष्टि रहेको मानिएको थियो भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको विरोधमा गरेको आन्दोलनका क्रममा सीमानाका अवरोधमा भारतले अघोषित रुपमा सघाएको टिप्पणी आएको थियो ।
गत साता मात्र नाकाबन्दी खुलेपछि प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणको तिथि तय भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही फागुन ७ देखि १३ गतेसम्म सो मुलुकको भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका अवसरमा दुई मुलुकबीच उच्चस्तरीय र औपचारिक वार्ता हुनेछ ।
भ्रमणको कार्यसूची र तयारीबारे छलफल हुने गरी व्यवस्थापिका–संसद्को बैठक मङ्गलबार बिहान ११ बजे राखिएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले संसद्मा सांसद्ले विशेष समय लिई भारत भ्रमणका सम्बन्धमा दिने सुझाव र धारणाका आधारमा प्रधानमन्त्रीले जवाफसहितको सम्बोधन गर्ने कार्यसूची रहने बताउनुभयो । बैठकको विस्तृत कार्यसूची तय गर्न सभामुख ओनसरी घर्ती मगरले मङ्गलबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नुहुनेछ ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले मित्रराष्ट्रको भ्रमण गर्नुअघि मुलुकका प्रधानमन्त्रीले संसद्बाट विशेष सुझाव ग्रहण गर्ने क्रममा कसरी मुलुकको अधिकतम हित हुने ष्शस व्यवस्थित गर्न सकिन्छ भन्ने आधारमा संसद्मा छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वतन्त्रता, दुई मुलुकको हित, नेपालको स्वार्थ र विकासका लागि भ्रमणलाई सदुपयोग गर्ने बताउँदै आउनुभएको छ । आजै एसियाली राजनीतिक पार्टी (आइक्याप)को कार्यशालामा उहाँले छिमेकी भारत र चीनसँगको सम्बन्ध असल बनाएर त्यसलाई मुलुकको हित र विकासमा उपयोग गर्ने बताउनुभयो ।
मुलुकको भ्रमणको कार्यसूची तर्जुमाका लागि दुई देशबीच कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ भने भ्रमण टोलीका सदस्य र सोसम्बन्धी थप निर्णयबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । रासस
No comments:
Post a Comment