काठमाडौँ, ३ फागुन । ‘नेपाल समाचारपत्र’का प्रधानसम्पादक तथा मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठका पिता वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको ७४ वर्षका उमेरमा आज साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
विसं १९९८ वैशाख १३ गते जन्मिनुभएका उहाँ करिब ५० वर्षअघिदेखि समाजसेवामा समर्पित हुनुहुन्थ्यो । लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट गभर्नर रहिसक्नुभएका उहाँ हाल स्यस्यः समाजका संस्थापक अध्यक्ष, विशाल बजार व्यापार सङ्घ तथा लायन्स क्लब अफ विशाल बजारका वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्षका नाताले समाजसेवाको कार्यमा सक्रिय रहँदै आउनुभएको थियो ।
उहाँले डेनमार्क लायन्स क्लबको सहयोगमा लायन्स क्लब अफ विशाल बजार मार्फत दुई शव वाहन र तीन एम्बुलेन्स जुटाउनका लागि उल्लेख्य योगदान पु¥याउनुभएको थियो । गत वैशाख १२ गतेको भूकम्पबाट पीडितका लागि डेनमार्क लायन्स क्लबबाट सहयोग जुटाई भूकम्पपीडितका लागि लाखौं रुपियाँ नगद र जिन्सी राहत उपलब्ध गराएर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले समाजसेवामा उल्लेखनीय काम गरेबापत डेनमार्क सरकारबाट उच्च सम्मान र नेपाल सरकारबाट गोरखा दक्षिणबाहुलगायत दर्जनौं उच्च सम्मान तथा पदक प्राप्त गर्नुभएको थियो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय औधोगिक सम्मेलनमा भाग लिनाका साथै उद्योगपतिहरुको प्रतिनिधिमण्डलका महत्वपूर्ण सदस्यका रुपमा युरोपेली सङ्घको निमन्त्रणामा युरोप लगायत दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनुभएको थियो । उहाँका श्रीमती जमुना तथा प्रधानसम्पादक श्रेष्ठसहित तीन छोरा र ती छोरी हुनुहुन्छ । रासस
No comments:
Post a Comment