गोरखा, ९ फागुन । तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको सामागाउँमा ७० जनाभन्दा बढी स्थानीयवासी बिरामी परेका छन् ।
सामागाउँ १ देखि ६ वडाभित्र बसोबास गर्दै आएका भूकम्पपीडित स्थानीयवासी झाडापखला, ज्वरो, वान्ता हुने, पेट दुख्नेलगायत समस्याले गर्दा थला परेका हुन् ।
फागुन ४ गतेदेखि बिरामी परेका स्थानीयको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । सामागाउँ स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन् । क्यान नेपाल नामक गैरसरकारी संस्थाकी एक जना अनमीले बिरामीको उपचार गरेपनि घरैपिच्छे बिरामी भएकाले उपचार गर्न समस्या भएको हो ।
सामागाउँ प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले भन्नुभयो, “एकपछि अर्को गरी स्थानीयहरु बिरामी परेको खबर आएको छ । स्थानीयले डाक्टर र औषधिको माग गरेका छन् ।” सामागाउँमा रहेको सिडिएमए फोनको नेटवर्क अवरुद्ध छ भने एनटिस्याट नामक टेलिफोनको सेवा पनि अवरुद्ध हुँदै आएको छ ।
सञ्चार सम्पर्कका लागि प्रहरीको सेटले मात्रै काम गरेको हो । प्रहरी स्रोतले जानकारी दिएअनुसार २५ जना बालबालिका र ४० जनाभन्दा बढी ठूला मान्छे बिरामी परेका छन् । उपचारका लागि औषधि र स्वास्थ्यकर्मी नभएकाले तत्कालै स्वास्थ्यकर्मीको जोहो गरिदिन प्रहरीले जिप्रकामा खबर पठाएको हो ।
सामागाउँमा २०० भन्दा बढी घरधुरी छ भने एक हजार ५०० जनसङ्ख्या छ । भूकम्पले घर भत्केपछि स्थानीय कष्टकर जीवन निर्वाह गर्दै आएका थिए । हिमपात र चिसो स्याँठको असरले गर्दा स्थानीय बिरामी परेको अनुमान गरिएको छ ।
जिल्ला जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले दुई जनाको टोली औषधिसहित बिरामीको उपचारका लागि पठाइएको बताउनुभयो । “विहीबाट स्वास्थ्यकर्मी पठाएर उपचार गर्ने तयारी गरिएको छ”–उहाँले भन्नुभयो । तर बिहीबाट सामागाउँ पुग्न दुई दिनको पैदल बाटो हिँड्नुपर्छ । रासस
No comments:
Post a Comment