Monday, February 22, 2016

प्राचीन संस्कृतिको संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता

पोखरा (सिक्लेस), १० फागुन । सूचना प्रविधिले धेरै फड्को मारिसकेको अवस्थामा पनि प्राचीन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा स्थानीयवासीले कटुवाल प्रथालाई निरन्तरता दिएका छन् ।

स्थानीयवासीका हातहातमा टेलिफोन तथा इमेल इन्टरनेटको पनि पहुँच भएको सिक्लेसमा सूचना प्राप्तिका लागि कटुवालको सूचना अहिले पनि अन्य माध्यमभन्दा भरपर्दो मान्ने गरिएको छ ।

विद्युत््भार कटौतीका कारण देशका अन्य भागमा भने विद्युत््को समस्यामा इमेल इन्टरनेट प्रभावित हुने भए पनि स्थानीय लघु विद्युत्् आयोजनाका कारण सिक्लेसमा २४ सै घण्टा विद्युत् आपूर्ति भइरहन्छ ।

गुरुङ जातिको बस्ती रहेका कारण गुरुङ भाषामा नै कटुवालले यो गाउँमा सूचना दिने गर्दछन् । प्राचीन कालदेखि सूचना प्रवाहको आधिकारिक र भरपर्दो माध्यम बनेको कटुवाल प्रथा पछिल्लो समयमा लोप हुन थालेको भन्दै यो संस्कृतिको जगेर्नाका लागि यसलाई निरन्तरता दिइएको स्थानीयवासी एवम् पार्चे गाविसका पूर्वअध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो ।

कटुवाल शब्दले ‘सूचना बाहक’ भन्ने जनाउने भए पनि पछिल्ला पुस्तामा यो प्रथा हराउँदै गएका कारण धेरैले यस शब्दलाई व्यक्ति वा समुदाय विशेषको थरका रुपमा मात्र बुझ्ने गरेका छन् । पछिल्लो समयमा सहर तथा गाउँमा पनि सूचना प्रवाहका लागि आधुनिक आमसञ्चारका माध्यमको पहुँच बढेकाले सूचना प्रवाहको माध्यमका रुपमा प्राचीनकालमा विकसित यो प्रथा धेरै ठाउँमा लोप भइसकेको छ भने बाँकी ठाउँमा पनि विस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ ।

यो प्रथा प्राचीन समाजको भरपर्दो सूचना प्रणालीका रुपमा स्थापित भएको बताउने सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङ कटुवाल शब्दले समाजको सूचना सुनाउने व्यक्तिलाई जनाउने बताउनुहुन्छ ।

नेपाली बृहत शब्दकोषले ‘पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति’लाई कटुवाल भनेको छ । कटुवाल प्रणाली प्राचीनकालको आमसञ्चारको महत्वपूर्ण माध्यम भए पनि पछिल्लो समयमा स्याटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चारको क्षेत्रमा धेरै परिवर्तन आएकाले यो लोपोन्मुख अवस्थामा पुगेको हो ।

लोपोन्मुख संस्कृतिलाई जोगाइराख्न सिक्लेसमा अहिले पनि कटुवाल प्रथालाई निरन्तरता दिइएको पूर्व गाविस अध्यक्ष कर्णबहादुर गुरुङको भनाइ छ । गाउँको बाटो सरसफाइ, निर्माण कार्य, वन सुरक्षा, सामाजिक सुरक्षा भत्ता वितरण, सभा सम्मेलनका सूचना कटुवालले दिने गरेको उहाँले बताउनुभयो ।

कटुवाल घोकेको प्रत्यक्ष देख्न तथा सुन्न पाउने पर्यटकका लागि त्यो एउटा छुट्टै अनुभव हुने गरेको छ । हिमाली क्षेत्रको अवलोकनका साथै उच्च पहाडी भेगमा पदयात्रा र अवलोकनका लागि स्वेदशी तथा विदेशी पर्यटक दैनिक सिक्लेस पुग्ने गर्दछन् ।

कटुवाल घोक्नका लागि गाउँमा छुट्टै कक्षको व्यवस्था गरिएको छ । कटुवाल घोक्न र अन्य कुनै पनि सामाजिक कुरामा निर्णय लिनका लागि राखिएको कक्षलाई सभाचोकका रुपमा लिने गरिएको छ ।

समाजका दुःख सुखका साथै कुनै पनि महत्वपूर्ण विषयमा निर्णय लिन गाउँलेहरू त्यही सभा चोकमा पुने गर्दछन् । गाउँको लगभग सबै क्षेत्रबाट केन्द्र पर्ने गरी प्राचीनकालदेखि नै सभाचोकको स्थापना गरिएको स्थानीयवासी बताउँछन् ।

सूचना प्रवाह गर्नुपर्दा उक्त चोकबाट नै कटुवालले चर्कोसँग कराएर सूचना प्रवाह गर्ने गर्दछन् । सिक्लेस गाउँमा हुने झै–झगडाका साथै अन्य धेरै न्यायिक कामहरू सकेसम्म स्थानीय रुपमानै मिलाउने अचम्मको संस्कार पनि हालसम्म जीवितै छ ।

समाजलाई एकताबद्ध बनाउनका लागि कुनै पनि समस्या परेमा सभाचोकमा भेला भई सामूहिक रुपमा समस्याको समाधान गर्ने गरिएको अन्नपूर्ण मावि सिक्लेसका पूर्व प्रधानाध्यापक सुरजकुमार गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यहाँको कृषि प्रणाली पनि आफ्नै नीति नियमबाट सञ्चालित छ । खेती सुरु गर्नेदेखि थन्क्याउनेसम्म सबै कामहरू सामाजिक निर्णयका आधारमा अघि बढाउने गरिएको छ । “खेती सुरु गर्ने होस् वा थन्क्याउने होस् एउटा निश्चित मिति तय गरी त्यसको जानकारी कटुवालमार्फत गाउँलेलाई दिने गरिन्छ ।”– गुरुङले भन्नुभयो ।

सामाजिक नीति नियमलाई इमान्दारिता पूर्वक पालना गर्ने यहाँको विशिष्टता रहेको छ ।
प्राचीन संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ आफूले कटुवाल प्रथालाई निरन्तरता दिएको विगत लामो समयदेखि कटुवालको जिम्मेवारी पाएका स्थानीय तीलबहादुर गुरुङले बताउनुभयो । कटुवाल घोकेसँगै गाउँमा नयाँ के समाचार आयो भनेर सर्वसाधारण सबैले चासो दिएर सुन्ने गरेको उहाँले बताउनुभयो ।

कटुवाल घोकेबापत स्थानीयवासीले प्रत्येक वर्ष प्रत्येक घरबाट एक पाथी कोदो, धान, मकैजन्य उत्पादन बुझाउनुपर्ने यहाँको प्रचलन छ । स्थानीय कटुवाल प्रथाको संरक्षणका साथै लोपोन्मुख अवस्थाका संस्कृति तथा खेललाई पनि पुनःजीवन प्रदान गर्ने सोचमा सिक्लेसका युवाहरू सक्रिय बनेको सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts