काठमाडौँ, २ फागुन । वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी सुनसरी हाँसपोसा गाविस घर भई हाल काठमाडौँ बस्दै आएका राम गुरुङलाई आज प्रहरीले पक्राउ गरेको छ ।
रोहित गिरीको जाहेरीले बादी नेपाल सरकार भई वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको मङ्सिर २० गतेको फैसलाले रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद हुने ठहर भएका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाबहिलबाट पक्राउ गरेको हो ।
पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।
गुरुङले जाहेरवाला गिरीलाई आकर्षक वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडित जाहेरवालाबाट रु एक लाख ७० हजार लिई ठगी गरेको ठहर गर्दै वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगार, ऐन २०६४ बमोजिम प्रतिवादीलाई उल्लेखित कैद जरिवाना हुने तथा पीडितलाई प्रतिवादीबाट बिगो र हर्जानासमेत रु दुई लाख ५५ हजार भराइदिने फैसला गरेको थियो । रासस
No comments:
Post a Comment