चितवन, १६ फागुन । भूकम्प र नाकाबन्दीले सुस्ताएको चितवनको पर्यटन व्यवसायमा सुधार आउन सकेको छैन ।
भूकम्प आएको १० महिना वितिसक्दा र नाकाबन्दी खुल्दा समेत पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै कम छ । अघिल्ला महिनाको तुलनामा क्रमशः पर्यटक बढ्ने आकलन गरिएको भए पनि माघ महिनामा पर्यटकको सङ्ख्यामा सुधार आउन नसकेको निकुञ्जले जनाएको छ ।
सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार माघमा विदेसी, स्वदेशी र सार्क क्षेत्रका गरेर कूल सात हजार ४९३ जनाले निकुञ्ज घुमेका छन् । निकुञ्ज घुम्ने स्वदेशी र विदेशी लगभग बराबर छन् । भारत जस्ता छिमेकी सार्क राष्ट्रबाट निकुञ्ज घुम्न आउने अति नै न्युन रहे । सार्क क्षेत्रका जम्मा २१३ जनाले माघमा निकुञ्ज घुमेको अर्यालले बताउनुभयो । माघ महिनामा निकुञ्जले रु एक करोड १६ हजार राजस्व सङ्कलन गरेको छ ।
निकुञ्जमा यसवर्षको कात्तिक र पुसको तुलनामा माघमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । कात्तिकमा आठ हजार ७५३ जना निकुञ्ज घुम्न आएका थिए । पुसमा आठ हजार २२ जनाले निकुञ्जको भ्रमण गरेका थिए । गतवर्ष निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या महिनामा १० हजार नाघे पनि योवर्ष सङ्ख्या न्यून रहेको छ ।
भूकम्पपछि जेठ महिनायता पर्यटको सङ्ख्या ह्वात्तै घटेको हो । यो वर्ष निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या जेठमा एक हजार ५९२ जना, असारमा एक हजार ५९४, साउनमा दुई हजार ६९० र भदौमा दुई हजार १७९ रहेको थियो ।
निकुञ्जमा रहेको दुर्लभ एकसिँगे गैँंडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न देश विदेशबाट पर्यटक यहाँ आउँछन् । तर भूकम्प र देशको असहज राजनीतिक अवस्थाका कारण पर्यटकको सङ्ख्यामा कमी आएको छ । काठमाडाँै, पोखरापछि पर्यटकको रोजार्ई चितवन निकुञ्ज रहेको छ । रासस
No comments:
Post a Comment