काठमाडौँ, २० माघ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले सवारी आवतजावतमा समस्या परे पनि पछिल्लो समयमा सवारी साधन आवतजावतको सङ्ख्या बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार मङ्सिरको तुलनामा पुस र माघमा काठमाडौँ उपत्यकामा भित्रने र बाहिरिने सवारीसाधनको सङ्ख्या वृद्धि भएको हो । मङ्सिरमा एक लाख ५० हजार सवारीसाधन आवतजावत भएका थिए भने पुसमा एक लाख ८० हजारको हाराहारीमा सवारीसाधन उपत्यकामा भित्रिने तथा बाहिरिने गरेको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।
निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारीसाधन चलाएको, बाटो इजाजतपत्र नलिई सवारी चलाएको, सवारीस्वरुप परिवर्तन गरेको, आफूखुसी नम्बर प्लेट राखेको आरोपमा कारबाही पर्नेको सङ्ख्या पनि पछिल्लो समयमा बढेको छ । मङ्सिरमा १८ हजार ३२८ सवारीसाधन कारबाहीमा परेको भए तापनि पुसमा ३६ हजार ७६६ सवारीसाधनलाई कारबाही गरिएको छ । यो मङ्सिरको तुलनामा दोब्बर हो । माघमा ३३ हजार २१२ सवारीसाधन कारबाहीमा परेका छन् ।
यसैगरी, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेको सङ्ख्या पछिल्लो समयमा घटेको छ । मङ्सिरमा तीन हजार दुई, पुसमा दुई हजार ९३६ र माघमा ६८० ले मापसे गरी सवारी चलाएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटनाको सङ्ख्या भने बढेको छ । मङ्सिरमा ३५४, पुसमा ४२१ र माघमा २५९ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment