काठमाडौँ, १५ फागुन । ज्यापु महागुथी काठमाडौँ महानगर समितिको चौथो अधिवेशन आजदेखि स्थानीय वसन्तपुरमा सुरु भएको छ ।
‘ज्यापुको उन्नति हाम्रो देशको समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ । अधिवेशनमा काठमाडौँ महानगरपालिकाका ३५ वडाभित्रका ज्यापु समुदायका परम्परागत टोल र गुठीका प्रतिनिधिको सहभागिता छ ।
समितिका केन्द्रीय अध्यक्ष रामबहादुर डङ्गोलले ज्यापु समुदायको संस्कृति संरक्षणका कार्यको समीक्षा तथा भावी योजनाबारे गरिने छलफलले उनीहरुको हितमा कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आवश्यक दबाब दिन सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल, नेकपा (एमाले)का स्थानीय नेता न्हुच्छेकाजी महर्जन, डा मृगनारायण सिंह, अधिवेशनका संयोजक इ सानुबाबु प्रजापतिलगायतले विशेष गरी काठमाडौँमा बढ्दै गएको सहरीकरणले ज्यापु समुदायले गर्दै आएको कृषि पेसा अहिले सङ्कटमा रहेको बताउनुभयो ।
ज्यापु समुदायको राष्ट्रिय सङ्गठनका रुपमा स्थापित महागुथीले महिला सशक्तीकरण, नेपाल भाषा संरक्षण तथा शैक्षिक जागरणका लागि काम गर्दै आएको छ । यसअघि काठमाडौँको भीमसेनस्थानस्थित परोपकार उमाविबाट सांस्कृतिक निकालिएको जुलुस सहरका विभिन्न स्थानमा परिक्रमा गरी वसन्तपुरमा आएर सभामा परिणत भएको थियो । रासस
No comments:
Post a Comment