काठमाडौँ, ५ फागुन । भूकम्पका बेला हुने जनधनको क्षतिमध्ये ५० प्रतिशत क्षति घरभित्र रहेका सरसामान वा सजावटका गैरसंरचनात्मक वस्तु खसेर, फुटेर हुने गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) र जापानी सहयोगी संस्था साप्लानीरको आयोजनामा आज यहाँ भएको ‘भूकम्प गैरसंरचनात्मक जोखिम अल्पीकरण’ विषयक अन्तक्र्रियामा गैरसंरचनात्मक वस्तुको क्षति एउटा घरमा भएको सम्पूर्ण क्षतिको एक तिहाइसम्म हुने गरेको बताइयो ।
एनसेटका वरिष्ठ पैरवी अधिकृत खड्गसेन ओलीले गोरखा भूकम्पमा परी ज्यान गुमाएकामध्ये ९९ प्रतिशतको मृत्यु घरभित्रै किचिएर वा त्यहाँ रहेका गैरसंरचनात्मक वस्तुले लागेर भएको अध्ययनबाट थाहा भएकाले घरको संरचना बलियो र त्यहाँभित्र रहने गैरसंरचनाको व्यवस्थापन उचित ढङ्गबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
साप्लानीरको राष्ट्रिय प्रतिनिधि माकी मियाहाराले भूकम्पीय पूर्वतयारी नहुँदा गोरखा भूकम्पमा धेरैले ज्यान गुमाउनुपरेको बताउँदै भूकम्पीय सुरक्षाका बारेमा गृहिणीलाई सचेत गराउन आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो ।
सो अवसरमा एनसेटका इन्जिनियर देव महर्जन र साप्लानीरका सिर्जना श्रेष्ठले गैरसंरचनात्मक जोखिमबाट हुने क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment