काठमाडौँ, ५ फागुन । कृषि विकास मन्त्री हरिबोल गजुरेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल मत्स्य व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘मत्स्य उत्पादन बजारीकरण एवम् संस्थागत विकास’सम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा मन्त्री गजुरेलले कृषि क्षेत्रको विकास गरी देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने बताउनुभएको हो ।
उहाँले भन्नुभयो– “नेपाल कृषिप्रधान मुलुक हो, यहाँ भएका स्रोत साधनको प्रयोग गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ”– गजुरेलले माछापालनलाई आत्मनिर्भर बनाउनका लागि सरकारले विशेष चासो दिएको उल्लेख गर्नुुभयो ।
मत्स्य विकास निर्देशनालयका कार्यक्रम निर्देशक रमानन्द मिश्रले धेरैको रोजगारीको माध्यम कृषि भएकाले यसको विकास र विस्तार हुनु जरुरी रहेको बताउनुभयो ।
मत्स्य व्यवसायी सङ्घका अध्यक्ष तुलसीराज गिरीले मुलुक माछाको क्षेत्रमा ८० प्रतिशत आत्मनिर्भर भएको भन्दै शत प्रतिशत आत्मनिर्भर बनाउन सङ्घ लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विज्ञहरु रमानन्द मिश्र, मौषमी श्रेष्ठ, सुरेश वाग्लेलगायतले माछाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment