बर्दिवास, ८ फागुन । महोत्तरी जिल्लाको सुदूरउत्तरवर्तीे बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उधुम मच्चाइले आजित भएका छन् ।
बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनिंया गाविस बस्तीका घरघरै हुलका हुल बाँदर पसेर खानेकुरा, अन्नपात र अन्य सामान नोक्सान पारेर उधुम मच्चाउन थालेपछि यहाँका बासिन्दा वाक्कदिक्क भएका हुन् ।
बर्दिवास नपा क्षेत्रकै नेवारडाँडा र कामीडाँडा सामुदायिक वनबाट गाउँबस्ती पस्ने गरेका बाँदरले थाङ्रामा राखेका मकैका झुक्ता उधिनेर दिनहुँ दुःख दिने गरेको बर्दिवास–४ गौरीडाँडाकी गृहणी गीता खतिवडाको गुनासो छ । आफ्नो बस्तीका घरघरै पस्न थालेको बाँदरले मान्छेका आँखा छलेर भान्साबाटै पनि खानेकुरा लिएर भाग्ने गरेको सोही बस्तीकी यशोदा बस्नेतले बताउनुभयो ।
घरघरै हुल पस्न लागेका बाँदरलाई सामान नष्ट गर्नबाट रोक्न खोज्दा आक्रमण नै गर्ने गरेको पीडितको भनाइ छ । आफ्नो बस्तीमा बाँदरको झम्टाइमा परेर स–साना नानी मात्र नभई कामकाजी महिला र बटुवासमेत तर्सन र घाइतेसमेत हुने गरेका बर्दिवास–६ रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताउनुभयो ।
बर्दिवाससँगै जोडिएका खयरमारा, लक्ष्मीनियाँ, बेलगाछी र हाथीलेट गाविस बस्ती र गौशाला नगरपालिकाको रामनगर बस्तीमा नजिकैको वनक्षेत्रबाट घरघरै मचान उधिन्न पुग्ने बाँदरको हुलले आपूm हैरान भएको त्यहाँका बासिन्दाले बताएका छन् । जिल्लाको सुदूरउत्तरी क्षेत्रका बस्तीमा बाँदर आतङ्क मच्चिएका बेला वनक्षेत्रबाट १० किलोमिटर दूरीको बर्दिवास नपासँगै सीमा जोडिएको पशुपतिनगर गाविसमा बँदेल पसेर हैरान खेलाएको पशुपतिनगर–१ का किसान महेन्द्रसिंह कुशवाहाले बताउनुभयो । आफ्नो बस्ती पसेका तीन÷चार वटा बँदेलले तरकारीखेती सखाप पारी दिएको कुशवाहासहित अन्य किसानको गुनासो छ ।
लामो समयदेखि बस्ती नजिकैको वनक्षेत्रमा रहँदै बस्दै आएका बाँदर आफ्नो बासस्थान वरिपरि वन विनास हुन थालेर भोजनको अभाव हुन थालेपछि बस्ती पस्न थालेका वन र वन्यजन्तुविज्ञको भनाइ छ । वनक्षेत्रमा मानव चहलपहल बढेर र वन क्षेत्र अतिक्रमण भएर वनमा खानेकुराको अभाव भएपछि मान्छेसँग पहिलेदेखि नै मज्जाले रत्तिँदै आएको बाँदर खानाको खोजीमा गाउँ पस्न लागेको जिल्ला वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत चन्देश्वर यादवले बताउनुभयो । बँदेल भने भित्री जङ्गलमा बस्ने भए पनि पछिल्लो पटक सिकारीको दपेटाइले भाग्दै गाउँ पसेको हुनसक्ने हाल इलाका वन कार्यालय बर्दिवासको प्रमुखसमेत रहनुभएका सहायक वन अधिकृत यादवको भनाइ छ ।
कार्यालयले बस्ती पसेका बाँदर र अन्य वन्यजन्तुसँग सामान्य र सहज व्यवहार गर्न आग्रह गरेको छ । बाँदरलाई हिर्काउँदा, जिस्क्याउँदा र लखेट्न खोज्दा ऊ झन छुच्चो हुने हुँदा त्यस्तो व्यवहार नगर्न विज्ञले आग्रह गरेका छन् । यता गाउँबस्तीका बासिन्दाले भने बँदेल र बाँदरबाट हुने क्षति तत्काल रोक्न आवश्यक तयारी र सुरक्षाको प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई पनि देखिने गरेका छन् । रासस
No comments:
Post a Comment