Saturday, February 6, 2016

प्रमको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छ : मन्त्री राई

काठमाडौँ, २३ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने भएकाले भ्रमणका विषयमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा मन्त्री राईले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा नेपालको हितविरुद्ध सन्धि सम्झौता हुन्छ कि भन्ने आशंका सम्बन्धमा देशको गरिमामा आँच आउने खालका कुनै सम्झौता नहुने भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “सरकारले गरेका कुरा हावादारी छैनन्, गरिएका सबै बाचा पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

मुलुकलाई अहिलेको समस्याबाट मुक्ति दिलाउन सरकार सफल हुने दाबी गर्दै मन्त्री राईले यो मुलुकका लागि महत्वपूर्ण उपलब्धि हुने धारणा व्यक्त गर्नुभयो ।

सरकारको अबको कार्य आर्थिक विकास गर्नु रहेकाले सरकारले दुई छिमेकी देशसँग आर्थिक विकासका सम्झौता गर्ने तयारी गर्न लागेको पनि जानकारी दिनुभयो ।

कठीन अवस्थामा पनि देशको स्वाभिमानलाई जोगाउन सरकार सफल रहेको बताउँदै मन्त्री राईले सरकारलाई कमजोर बनाउन जति प्रयास भए पनि सरकार कमजोर नहुने स्पष्ट पार्नुभयो ।

नयाँ संविधान प्रगतिशील र अग्रगामी रहेको तर्क गर्दै उहाँले त्यसलाई परिमार्जन गर्दै पूर्ण बनाउँदै लानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीलाई सहयोग गर्ने १९ जनालाई सम्मान पनि गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts