इटहरी, १ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ दीक्षान्त समारोहबाट आज विभिन्न विषयका ३३१ जना दक्ष चिकित्सा विज्ञान विषयका उपाधि प्राप्त जनशक्तिलाई दीक्षित गरिएको छ ।
प्रतिष्ठानले स्थापनाका २२ वर्ष पूरा गरिसक्दा एमबिबिएस, बिडिएस, एमएस्सी नर्सिङ, एमडिएस, एमपिएच, बिएस्सी, एमएलटी, एमएलआइटी, बिएन लगायतका विषयमा उपाधि प्राप्त गर्नुहुने चिकित्सा विज्ञानका विद्यार्थीलाई उनीहरुले प्राप्त गरेको उपाधिसहित दीक्षित गरिएको हो ।
प्रतिष्ठानले आफ्नो २२ वर्षको अवधिमा तीन हजार ३६५ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्र दासले दीक्षान्त समारोहमा प्रस्तुत गर्नुभएको शैक्षिक प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, प्रतिष्ठानमा हाल एक हजार ३९२ स्वदेशी तथा २४२ जना विदेशीसहित एक हजार ६३४ जना विद्यार्थीले आवासीय शिक्षण सेवा पाइरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपाल तथा भारतको उच्च लगानीमा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको सम्मानका लागि स्थापना भएको यो प्रतिष्ठानले विशेषगरी ग्रामीण जनताप्रति चिकित्सा सेवा पु¥याउने महान् उद्देश्य राखेर स्थापना भएकाले अहिले यस प्रतिष्ठानले पूर्वी नेपालका १६ वटै जिल्लालाई आफ्नो शिक्षण जिल्लाका रुपमा समेट्ने भरमग्दुर प्रयास गरिरहेको र धेरै स्थानमा टेलिमेडिसिन सेवामार्फत सर्वसाधारण सेवाग्राहीलाई उच्च दक्ष जनशक्ति सहितको उपचार सेवा प्रदान गर्दै आएको छ ।
पूर्वी नेपालको रिफरल अस्पतालसँगै विश्वका धेरै मेडिकल विश्वविद्यालयसँग सोझै सम्पर्क स्थापित गर्ने सफलतासमेत हासिल गरिसकेको प्रतिष्ठानले उत्पादन गरेका उत्कृष्ट चिकित्सा विज्ञानका विद्यार्थीमध्ये यो दीक्षान्त समारोहमा आइपुग्दा एमबिबिएसतर्फकी उत्कृष्ट विद्यार्थीको उपाधिसहित स्वर्ण पदक प्राप्त गर्नुहुने स्नेहल अग्रवाल र बिडिएसतर्फकी उत्कृष्ट विद्यार्थी एलिना तुलाधर लगायतका विद्यार्थीलाई प्रधानमन्त्री तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति ओलीले स्वर्ण पदकसहित सम्मान गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वमा नेपाल ‘हाइट’ र ‘लाइट’का कारणले चर्चित एवम् प्रख्यात रहेको चर्चा गर्नुहुँदै प्रतिष्ठानले उत्पादन गरेको चिकित्सा विज्ञानका विद्यार्थीले पनि आफूलाई विषयगतरुपमा उच्च सफलता हासिल गरेर जनताको सेवालाई अझ सफलतापूर्वक अघि बढाउने सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा रहेको अनि विश्व मानव शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध पनि नेपालमा नै जन्मिएकाले पनि नेपाल विश्वमा धेरै चर्चित रहेको तर्क अघि सार्नुहुँदै त्यही देशका जननेता विश्वेश्वर कोइरालाको नाममा स्थापित यस प्रतिष्ठानले उत्पादन गरेका चिकित्सक पनि आफ्नो विषयमा विशेषज्ञ हासिल गर्दै विद्वतापूर्वक जनताको सेवामा समर्पित रहनेछन् भन्ने कुरामा कसैको अविश्वास रहन सक्दैन भन्ने ठोकुवासमेत गर्नुभयो ।
पहिले धरान थापेर आरा काट्ने ठाउँ भएकाले यसको नाम धरान रहन गएको चर्चा गर्नुहँुदै प्रधानमन्त्री ओलीले अब धरानको नामले मात्र होइन यो स्थान उच्च दक्ष चिकित्सक उत्पादन गर्ने मेडिकल कलेज भएको नामले पनि विश्वभर चम्किने कुरालाई अब कसैले नकार्न नसक्ने कुरा अहिले दीक्षित भएका यति धेरै चिकित्सकका कारणले पुष्टि गरिसकेको तपाईं हाम्रासामु साक्षी रहेका छन् भन्नुभयो ।
प्रधानमन्त्री ओलीले स्थापनाको छोटो अवधिमा नै नेपालको चिकित्सा विज्ञानका क्षेत्रमा चाहिने दक्ष जनशक्ति उत्पादन गरेर देशभर आपूर्ति गरिसकेको तथ्याङ्कले पनि त्यो कुरालाई प्रमाणित गरिसकेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुरामा होइन बिपी प्रतिष्ठानले व्यवहारमा नै दक्ष जनशक्ति उत्पादन गरेर देखाइसकेको सबैलाई ज्ञात भएकै छ भन्नुभयो ।
भारत कर्नाटकका केएलई युनिभर्सिटीका उपकुलपति प्रोफेसर डा सी.के कोकटेको प्रमुख आतिथ्यमा भएको बाह्रौँ दीक्षान्त समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले प्रतिष्ठानलाई दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्ने थलो बनाउने अभिभारा पूरा गर्दै यसलाई आर्थिक रुपमा पनि सबल बनाउनेतिर भरमग्दुर प्रयास भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा विक्रम श्रेष्ठले प्रतिष्ठानका विभिन्न सङ्कायबाट चिकित्सकलाई उपाधिसहित दीक्षित गराउन लागिएको बताउनुभयोे ।
सो अवसरमा स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री रामजनम चौधरीको पनि सहभागिता रहेको थियो ।
यसैगरी, आजै प्रधानमन्त्री ओलीले प्रतिष्ठान परिसरमा शान्ति तथा पुनः निर्माण मन्त्रालयको शान्ति कोषको सहयोग रु पाँच करोडको लागतमा निर्माण सम्पन्न भएको पुनःस्थापना केन्द्रको उद्घाटन गर्नुभयो । माओवादी जनयुद्धकालमा घाइते तथा अपाङ्ग भएका एक हजार १०० जना मानिसलाई आवासीय सेवासहित उपचार गर्नका लागि उक्त पुनःस्थापना केन्द्र भवनको निर्माण भएको हो ।
सरकारले माओवादी जनयुद्धकालमा घाइते भएका तथा अपाङ्गता भएका नेपालीलाई पाँच विकास क्षेत्रमा नै यस प्रकारको पुनःस्थापना केन्द्र स्थापना गरेर उपचार गर्ने घोषणा गरेमुताबिक पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ श्यया क्षमताका ३५ कोठे दुईतले भवन निर्माण पूरा गरेको हो । सहरी विकास विभागले निर्माण गरेको सो भवन उद्घाटनसँगै स्थलगत निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा दास र प्रोफेसर डा गुरु खनालले सो भवनका विषयमा जानकारी गराउनुभएको थियो ।
चाँडै प्रयोगमा आउने सो भवनमा एक हजार १०० घाइते तथा अपाङ्गता भएका मानिसको आवासीय उपचारका लागि दुई करोड १० लाख रुपैयाँको लागतमा उपकरणहरु राखिएका छन् भने सो केन्द्र सञ्चालनका लागि पछिल्लो पटक सात करोड १६ लाख रुपैयाँको सञ्चालन खर्चसम्बन्धी शान्ति कोषसँग सम्झौता पनि भइसकेको बताइएको छ । रासस
No comments:
Post a Comment