काठमाडौँ, ५ फागुन । सभामुख ओनसरी घर्तीले नेपालको संविधान कार्यान्वयनका दिशामा संसद्को चालु अधिवेशन अर्थपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, नियम बनाउने कार्यमा संसद् अगाडि बढेको छ ।” संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसद् बैठक सञ्चालनका लागि राजनीतिक दलबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत दिनुभयो ।
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को चालु अधिवेशन गत असोज १५ गतेदेखि सुरु भएको थियो । अधिवेशन आज राति अन्त्य हुँदैछ । यसबीच ४१ दिनमा ४४ पटक बैठक बसेको थियो । यही अधिवेशनबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचित भए । अधिवेशनको पहिलो बैठकले आफ्नो कार्यविधि (व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२) पारित गरेको थियो । सदनमा प्राप्त ३८ विधेयकमध्ये छ वटा भयो ।
उहाँका अनुसार चालु अधिवेशनले भूकम्प पुुनःनिर्माणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरी महत्वपूर्ण काम अगाडि बढाएको छ । सभामुख पद सम्हालेको पाँच महिनाको अवधि कस्तो अनुभव गर्नुभयो ? भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले राजनीतिक दलहरुको सहयोगले गर्दा आइपरेका समस्या समाधान गरी अगाडि बढ्न सहज भएको जवाफ दिनुभयो ।
सभामुख घर्तीले जनताका समस्या सम्बोधन गर्न बन्ने विधेयकलाई दिनरात नभनी आगामी दिन सदनले अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
संसद नियमावली आगामी अधिवेशनको पहिलो बैठकमा आउने उहाँको भनाइ थियो । रासस
No comments:
Post a Comment