Saturday, February 13, 2016

अबको लक्ष्य समृद्धि र विकास : मन्त्री पौडेल

फलेवास (पर्वत), १ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबको लक्ष्य भनेको राष्ट्र विकास र समृद्धिका लागि हुनुपर्ने बताउनुभएको छ ।

पर्वतको तिलाहारस्थित नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले देशमा राजनीतिक क्रान्तिहरु पूरा भइसकेकाले अब आर्थिक समृद्धिलाई मूल लक्ष्य बनाई विकास निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले ७० वर्षदेखि राजनीतिक क्रान्तिका कारण आर्थिक समृद्धिमा ध्यान नदिएको बताउँदै पौडेलले राजनीतिक परिवर्तनका एजेन्डाहरु संविधानमा संस्थागत भएकाले अबको लक्ष्य राष्ट्र विकास र आर्थिक समृद्धि हुनुपर्ने जोड दिनुभयो । “सत्तरी वर्षसम्म संविधानका खातिर लड्यौँ अब हाम्रो लडाइँ मुलुकमा आर्थिक समृद्धिसँगै विकासका लागि हुनेछ” उहाँले यसका लागि सबै जाति, दल, धर्मका नेपाली जनताको सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले संविधान निर्माणपश्चात् आइपरेका केही कठिनाइलाई सामना गर्दै वर्तमान सरकार अघि बढेको बताउँदै पछिल्लो समयमा संविधान संशोधन गरेरै भए पनि हामीले विभिन्न क्षेत्रका मागलाई सम्बोधन गर्दै निकासको बाटो अपनाएको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई असफल बनाउने दुष्प्रयास विफल भएको बताउँदै सरकार सफलतातर्फ लम्किएको दाबी गर्नुभयो ।

कार्यक्रममा व्यवस्थापिका–संसद् सदस्य कल्पना चापागार्इं, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनालगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालयमा अध्ययन गरेर राज्यको उच्च तह तथा शैक्षिक क्षेत्रमा फड्को मार्न सफल पूर्व विद्यार्थीहरु, पूर्व शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलगायतलाई सम्मानित गरिएको थियो ।

विद्यालयका संस्थापक जुद्धजङ्ग लामिछानेको शालिक र स्वर्ण जयन्ती स्मारकको समेत मन्त्री पौडेलले अनावरण गरेका थिए भने स्मारिका विमोचनसमेत गरिएको थियो ।

पुस ११ गतेदेखि विविध कार्यक्रमका साथ सञ्चालन भएको विद्यालयको स्वर्ण महोत्सव शनिबार श्रीपञ्चमीका अवसरमा समापन गरिएको छ । समापनका अवसरमा रु ५० हजारभन्दा माथि विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मानित गरिएको थियो ।

विद्यालयले स्वर्ण महोत्सवका अवसरमा पश्चिमाञ्चलमा नै पहिलोपटक सबैभन्दा ठूलो धनराशिको पुरस्कार भएको पश्चिमाञ्चलस्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

त्यस्तै, विद्यालयले रत्यौली प्रतियोगिता, साहित्यिक गोष्ठी, माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, अभिभावकबीच विभिन्न खेलकुद प्रतियोगितालगायतको आयोजना गरी सम्पन्न गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts