ललितपुर, १ फागुन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारहरुको न्यूनतम पारिश्रमिकको कुरा उठाउँदा सञ्चारगृहहरुले आफ्नो संस्था घाटामा गएको बहाना बनाउने गरेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, ललितपुरले आज यहाँ आयोजना गरेको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आफ्नो सञ्चारगृह सञ्चालन गर्न पर्याप्त लगानी हुने तर पत्रकारलाई सेवा सुविधा तथा पारिश्रमिक दिनुपर्ने भएपछि घाटामा गएको देखाउने प्रचलनको विरोध गर्नुभएको छ । सञ्चार क्षेत्रको विकाससँगै यसमा हुने लगानी कहाँबाट भएको हो त्यसको पारदर्शीता हुनुपर्नेमा उहाँको माग रहेको थियो ।
उहाँले सञ्चार क्षेत्रमा बढेको अस्वाभाविक लगानीको पारदर्शीताले मात्र स्वच्छ पत्रकारिता हुनसक्ने औँल्याउनुभयो । अप्रत्यक्ष रुपमा आपराधिक क्रियाकलापमा संलग्न रहने व्यक्तिले सञ्चार क्षेत्रमा लगानी गरेर यसको दुरुपयोग गरिरहेको पनि उहाँको आरोप थियो ।
उहाँले महासङ्घलाई नेपालको संविधान बमोजिम केन्द्रीय, प्रान्त तथा स्थानीय तहमा पुनःसंरचना गर्ने तयारी रहेको बताउनुभयो । पत्रकारहरुको क्षमता विकासको अभिवृद्धि गर्न छिट्टै सञ्चार प्रतिष्ठानको स्थापना गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले पत्रकारिता पेसा स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता विषयमा दक्ष व्यक्तिले मात्र सहीरुपमा कलम चलाउन सक्ने उहाँको भनाइ रहेको थियो ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले स्व कृष्णप्रसाद भट्टराईको नाममा स्थापना हुन लागेको आमसञ्चार प्रतिष्ठानबाट भट्टराईको नाम हटाउनु आपत्तिजनक भएको बताउनुभयो ।
ललितपुर महासङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकारका क्षमता विकासका लागि प्रशिक्षणको आवश्यकता भएको बताउनुभयो । रासस
No comments:
Post a Comment