काठमाडौँ, १४ फागुन । भारतको अघोषित नाकाबन्दीपछि सार्वजनिक सवारी साधनका परिचालकमा मनपरीतन्त्र बढेकाले तोकेभन्दा बढी भाडा उठाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नाकाबन्दी खुलेपछि पनि सार्वजनिक सवारी साधनले मनपरी भाडा लिएको गुनासो बढेकाले विभागले गरेको अनुगमनका क्रममा परिचालकमा अश्लील शब्दको प्रयोग गर्ने, यात्रुलाई नराम्रो व्यवहार गर्ने र अनुहार हेरेर सके जति बढी भाडा उठाउने प्रवृत्ति बढेको विभागका प्रवक्ता एवम् अनुगमन शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
“विभागले पाँच दिनदेखि चार समूह बनाई गरेको अनुगमनबाट माघ २४ गते कायम गरिएको भाडादरभन्दा बढी भाडा असुल्ने ७० सवारी साधनका कागजपत्र नियन्त्रणमा लिई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्तकुनामा बुझाइएको छ, कति कारबाही गर्ने भन्ने अधिकार कार्यालय प्रमुखलाई हुन्छ”– उहाँले भन्नुभयो ।
विभागले गौशालामा गरेको अनुगमनका क्रममा सफा टेम्पोका महिला चालकले उग्र भएर मनपरी शब्दले गाली गरेपछि उनलाई एक रात नियन्त्रणमा लिई छाडिएको विभागले जनाएको छ ।
सानाठूला सवारीका निमित्त कार्यालय प्रमुख गणेश अर्याल विभागले तोकिएभन्दा बढी भाडा असुल्ने ७० सवारी साधनबाट रु पाँच हजारका दरले रु तीन लाख ५० हजार जरिवानास्वरुप उठाइएको जानकारी दिनुहुन्छ ।
अनुगमन आज पनि जारी रहेको विभागले जनाएको छ । रु एक मात्र बढी भाडा लिनेलाई विभागले कागजात नियन्त्रणमा लिई सानाठूला सवारी कार्यालय मार्फत रु पाँच हजार जरिवाना उठाउने अभियान जारी रहनेछ । रासस
No comments:
Post a Comment