काठमाडौँ, १७ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले लोपोन्मुख थामी र माझी जातिका संस्कार, संस्कृतिलाई आधार बनाएर निर्माण हुन लागेको नेपाली चलचित्र ‘बन्ठे’ को आज शुभारम्भ गर्नुभएको छ ।
सुनकोसी, उदयपुर र सप्तकोसी वरपर क्षेत्रमा बसोबास गर्ने ती समुदायका रीतिरिवाज तथा उनीहरुको जीवन शैलीबारे कथा बनाइएको सो चलचित्रमा तीन दशकअघि उनीहरु बाँच्नका लागि जङ्गलमा जनावर मार्ने, नदीमा माछा मार्ने गरेको विषयसमेत कथामा समावेश गरिएको छ ।
सो अवसरमा सञ्चारमन्त्री राईले अल्पसङ्ख्यक जाति तथा समुदायका बारेमा चलचित्र निर्माण गर्दा उनीहरुलाई प्रोत्साहन हुने उल्लेख गर्दै त्यस्ता चलचित्रले उनीहरुको भावना तथा संस्कृतिमा आँच आउन दिन नहुने बताउनुभयो । उहाँले चलचित्र समाज परिवर्तनका लागि सशक्त माध्यम भएको र यसले शिक्षाका साथै मनोरञ्जनसमेत उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै स्वदेशी चलचित्रलाई संरक्षण गर्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभयो ।
युवी फिल्म ग्यालरी प्रालिले करिब रु ५० लाखको लागतमा निर्माण सम्पन्न गर्ने तयारी गरिएको सो चलचित्रमा भुवन कटुवालले निर्देशन गरेको प्रालिका अध्यक्ष हेमराज सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार उमेश सिवाकोटी, परी शाक्य, सञ्चिता लुईंटेललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रको समयावधि करिब दुई घन्टाको हुनेछ । रासस
No comments:
Post a Comment