काठमाडौँ, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ ।
केही समयअघि बङ्गलादेशमा भएको बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले यही फागुन ३ गते भएको फाइनल खेलमा नेपालले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेर फर्किएका टोलीले नेपाली जनतालाई खुसी दिएको भन्दै राष्ट्रपतिले प्रशंसा गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले विज्ञप्तिमार्फत दुई दशकभन्दा लामो निरासा अन्त्य गर्दै उत्साहको सञ्चार गराउने विजयको यस शृङ्खलाले सबैलाई हर्षित तुल्याएको र नेपाली खेलकुदको भविश्य र सम्भावना दुवै सुरक्षित छ भन्नेतर्फ सङ्केत गरेको बताउनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली टोलीका कप्तान, दोहोरो ह्याट्रिक पूरा गर्ने नवयुग श्रेष्ठ र स्वर्णीम गोल गर्ने प्रकाश बुढाथोकीलगायत सबै खेलाडी र प्रशिक्षकलाई राष्ट्रपतिले बधाई दिनुभएको छ ।
त्यस्तै स्वर्ण पदक जितेर समस्त नेपालीको छाती गर्वले फुलाएको भन्दै राष्ट्रपतिले उसुमी निमा घर्तीमगर र जुडोकी फुपूल्होमु खत्री र अन्य पदक विजेता खेलाडीलाई पनि बधाई ज्ञापन गर्दै अझ सक्रिय खेल जीवनको कामना गर्नुभएको छ । रासस
No comments:
Post a Comment