काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सो पार्टीको उत्पादन विभागको बैठकलाई सम्बोधन गर्दै उहाँले समाजवादी अर्थतन्त्रको विकासका लागि सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले नेपालको संविधानले समेत समाजवादलाई आत्मसात् गरेकाले सोहीअनुसारको नीति तथा कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी एक दशक आर्थिक समृद्धिको मार्गमा प्रतिबद्ध भएर लाग्नुपर्ने र त्यसको नेतृत्व समेत एमाओवादीले नै गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उत्पादनलाई राजनीतिसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले उत्पादनसँग नजोडिएको राजनीति र समाजवादसँग नजोडिएको अर्थतन्त्रले मुलुकको फाइदासमेत नगर्ने जिकिर गर्नुभयो । सामन्तवादको अन्त्यसँगै समाजवादको दिशामा अगाडि बढेको नेपाली समाजलाई नयाँ नेतृत्व प्रदान गर्दै समृद्ध तुल्याउनु आजको प्रमुख आवश्यकता भएको उहाँको कथन थियो ।
एमाओवादीको हेटाँैडा महाधिवेशनले समेत उत्पादन र नवनिर्माणलाई जोड दिएको सन्दर्भ उल्लेख गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तासमेत उत्पादनमा केन्द्रित हुनुपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा स्थायी समिति सदस्य एवम् उत्पादन विभाग प्रमुख लोकेन्द्र विष्टले ‘उत्पादन श्रमसम्बन्धी कार्ययोजना’ प्रस्तुत गर्नुभएको थियो । विष्टले पेस गर्नुभएको कार्ययोजनामाथि शनिबार पुनः छलफल हुने उत्पादन विभाग सदस्य केशव नेपालले राससलाई जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment