दुई हजार तीनसय पशु बिमा
पथरी (मोरङ), २४ माघ । आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार ३३९ पशुको बिमा गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरका अनुसार एक हजार ५४० वटा गाई, ३२४ वटा भैँसी, ४५ वटा बङ्गुर र ४३० वटा बाख्राको बिमा गरिएको छ । पूर्वमा गाई, गोरुको सङ्ख्या २६ लाख, भँैसी राँगा १२ लाख, बाख्रा ३५ लाख, भेडा दुईलाख गरी जम्मा ८४ लाख पशु पालिएका पूर्वाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालयका अधिकृत डा अशोककुमार सिंहले जानकारी दिनुभयो ।
बिमा कम्पनी किसान समक्ष नपुग्ने समस्याले दुई हजार ३०० पशुको मात्र बिमा भएको हो । पशु बिमामा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । पथरी शनिश्चरेका किसान वीरबहादुर नकर्मी बिमा कम्पनी सदरमुकाममा रहेकाले धाउन झन्झटका कारण बिमा गर्ने पशुको सङ्ख्या बढ्न नसकेको बताउनुहुन्छ ।
क्षेत्रीय पशुसेवा निर्देशनालयका अधिकृत डा सिंहका अनुसार पूर्वाञ्चलमा गतवर्ष बिमा प्रिमियमबापत रु ४४ लाख बुझाइएको थियो । तर पशु मरेका कारण रु १३ लाख किसानले फिर्ता पाएका थिए । गतवर्ष बिमा गरिएकामध्ये २४ वटा गाई र एउटा भैँसी मरेका थिए । त्यस्तै ९९ लाख कुखुरा पालिएकामध्ये गतवर्ष ९ हजार ५४ वटा कुखुराको बिमा गरिएको थियो । रासस
No comments:
Post a Comment