Thursday, February 18, 2016

प्रमको भारत भ्रमणले असमझदारी अन्त्य गर्ने : मन्त्री राई

पोखरा, ६ फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको चिसोपन र असमझदारीे अन्त्य गर्नमा नै बढी केन्द्रित हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाल र भारतबीच विगतमा विकास आयोजनामा भएको सम्झौतालाई कार्यान्वयन गर्न र आपसी विश्वासको आधार बनाएर दुई देशको सम्बन्ध सुदृढ बनाउन पनि भ्रमणले जोड दिने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीको भ्रमणबाट राष्ट्रको हितविपरीत तल माथि हुनेगरी केही काम नहुने विश्वास दिलाउँदै मन्त्री राईले भारत भ्रमण सकेलगत्तै प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरी दुई देशबीच व्यापार तथा पारवाहन र इन्धनलगायत ऐतिहासिक सम्झौता हुने जानकारी गराउनुभयो ।

उहाँले एक वर्षभित्र जनतालाई महसुस हुने गरी विद्युत्भार कटौती कम गर्न र दुई वर्षभित्र शत प्रतिशत ऊर्जा सङ्कट अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउनुभयो ।

देशको विकास, समृद्धि र सुशासन कायम गर्ने गरी सरकार निरन्तर अघि बढेको धारणा राख्दै सूचना तथा सञ्चार मन्त्री राईले सरकार आफ्नो विकासको यात्रामा अलमल नगरी अघि बढेको छ अब कसैले पनि विकासको यात्रा रोक्न सक्दैन भन्नुभयो ।

उहाँले नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन सम्पन्न भएपछि काँग्रेस र मधेसवादी दललाई पनि सरकारमा सामेल बनाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

मन्त्री राईले देशको स्वाधीनता र स्वाभिमानको झन्डा झुक्न नदिइकनै अघोषित नाकाबन्दी अन्त्य गरिएको बताउँदै उहाँले नाकाबन्दी खुलेसँगै जनजीवन सामान्य बन्दै गएको र आपूर्ति व्यवस्था पनि सहज हुने धारणा राख्नुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts