Tuesday, February 23, 2016

जाजरकोटका सयभन्दा बढी खानेपानी आयोजना जीर्ण

जाजरकोट, १२ फागुन । यहाँका करिब १०० भन्दा बढी खानेपानीका योजना जीर्ण भएको एक सर्वेक्षणले देखाएको छ । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय जाजरकोटले गरेको एक अध्ययनले यस्तो समस्या देखाएकोे हो ।

योजना निर्माणपछि आवश्यक मर्मतसम्भार, रेखदेख नहुनु र निकै पुरानो हुनाले १०० भन्दा बढी खानेपानीका योजना जीर्ण अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

जीर्ण भएका यस्ता खानेपानीका योजनाहरु राणाकालमा निर्माण भएदेखि १० वर्ष अघि निर्माण गरिएकासम्म परेको कार्यालयले बताएको छ । जनसङ्ख्या वृद्धि भई खानेपानी उपभोग गर्ने सङ्ख्या थपिएपनि पुराना योजना मर्मत गर्नेतर्फ ध्यान नदिँदा स्थानीयवासी खानेपानीको समस्यामा परेको सरोकारवालाको भनाइ छ ।

जिल्लाका २६ गाविस र एक नगरपालिकामा गरिएको एक अध्ययनले खानेपानीको यस्तो हालत देखाएको छ । पुराना र जीर्ण यी खानेपानी योजनालाई मर्मततर्फ ध्यान नदिँदा यहाँबाट आएको खानेपानी समेत सफा नभएको स्थानीयवासीले बताएका छन् ।

मानिस र चौपायाले एकै ठाउँमा पानी खाँदा पानी थप फोहोर भएको छ । भेरी किनारका अधिकांश स्थानीयवासी खानेपानीको अभावमा भेरीको फोहोर पानी घण्टौं लगाएर ल्याई खान बाध्य छन् ।

जिल्लाका मन्मै, कुदु, रिम्ना, तल्लु, चामेखेत, छेडा, भुरचौर, मैदे, बगारालगायतका दर्जनभन्दा बढी ठाउँका बासिन्दाले भेरीको फोहोरपानी खान बाध्य भएको बताएका छन् ।

हिउँद तथा वर्षायाममा भेरीको पानी पिउँदा यहाँका बासिन्दा पानीजन्य रोगवाट पीडित भएको खगेनकोटका पदम खत्रीले बताउनुभयो । पातलो बस्ती भएका गाउँ र नदीको किनारमा बस्ने बासिन्दा फोहोर पानी पिउन बाध्य भएका छन् ।

आवश्यकता भन्दा पनि व्यक्तिको इच्छाले योजना छनोट गर्दा यस्तो समस्या भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो । प्रत्येक वर्ष निर्माण हुने खानेपानी योजना आवश्यकता हुनाले भन्दा पनि दबाबमा निर्माण हुँदा लक्षित वर्गसम्म नपुगेको शाहको भनाई छ ।

गाउँ, वस्ती, गाविस, इलाका हुँदै आएका आयोजनालाई आवश्यकताको आधारमा छनोट गरी कार्यन्वयन गरिएमा मात्र खानेपानीको समस्या हल हुने शाहले बताउनुभयो । अहिले राणाकालीन अर्थात चन्द्र शमशेरको पालामा निर्माण भएका र त्यसपछि निर्माण भएका जिल्ला भरिका तीनसय चारवटा खानेपानी आयोजनामध्ये १०० भन्दा बढी आयोजना जीर्ण अवस्थामा रहेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय प्रमुख महेश्वर महतोले बताउनुभयो ।

सयभन्दा बढी जीर्ण योजनामा सामान्य मर्मत गर्नुपर्ने र पुन्मा–७ का साल्टाकुरा खानेपानी आयोजना र मजकोट–९ देसिपाटा खानेपानी आयोेजना गरी दुईवटामा ठूलो मर्मत गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, मर्मत गर्नुपर्नेमा जगतिपुर–६ खन्नेखर्क मूल खानेपानी आयोजना, खलङ्गा–३ फूलबारी खोला, पैंँक–९ सौलाखोली खानेपानी आयोजना, लहँ–८ ऐरारी खानेपानी आयोजना, टालेगाउँ–८ भाक्नेमुल खानेपानी आयोजना, पजारु–९ पौजापाखा खानेपानी आयोजना, थालारैखर–७ ठाकुर जनाता खानेपानी आयोजना र जुगाथापाचौर–७ को भिउस खानेपानी आयोजना गरी आठवटा आयोजना रहेका छन् ।

मर्मत–सुधार अनि विस्तार गर्नुपर्ने आयोजनामा नायकवाडा–२ र ४ चेम्नेखोला मूल खानेपानी आयोजना र कार्कीगाउँ–९ ओरुलेखर्क मूल खानेपानी आयोजना गरी दुईवटा आयोजना रहेका छन् ।

पूरै निर्माण गर्नुपर्ने आयोजनामा डाडाँगाउँ–९ को धल्लेनी खोला मूल खानेपानी आयोजना रहेको छ । त्यसैगरी, सञ्चालनमै ल्याउन नसकिने आयोजनामा ढिमे–९ कहेरा खोला मूल खानेपानी आयोजना, रोकायगाउँ–८ जुगेपानी मूल खानेपानी आयोजना, सक्ला–९ काप्ती मूल खानेपानी आयोजना, भगवती–९ भगवति सिउनाखोला मूल खानेपानी आयोजना, अर्छानी–९ अदेरीखोला मूल खानेपानी आयोजना, झाप्रा–८ दारियाखोला मूल खानेपानी आयोजना, साल्मा–८ सुयाडापानी मूल खानेपानी आयोजना, दशेरा–६ पाखापानी मूल खानेपानी आयोजना, र दहँ–९ मैनपाखा मूल खानेपानी आयोजना गरी ९ वटा आयोजना रहेको कार्यालयको तथ्याङकले देखाएको छ ।

उक्त आयोजना कति सालमा कुन निकायवाट निर्माण गरिएको हो भन्ने पत्ता लगाउन नसकिएको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय प्रमुख महेश्वर महतोको भनाइ छ ।

खानेपानी आयोजनामै काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाद्वारा निर्माण गरिएका जिल्लाभरिकै आयोजनाको मर्मत सम्भारका लागि स्थानीय नागरिक समुदायलाई जिम्मेवार बनाउन नसक्दा यस्तो समस्या आएको अर्का नागरिक अगुवा केशवजङ्ग शाहको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts