Sunday, February 14, 2016

तीन वर्षभित्र लुम्बिनी गुरुयोजना पूरागर्न प्रम ओलीको निर्देशन

बुटवल, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी गुरुयोजना पूरा गर्नमा विगतमा भएको ढिलासुस्ती अब सरकारलाई मान्य नहुने बताउनुभएको छ । उहाँले अबको तीन वर्षभित्र लुम्बिनी गुरुयोजना पूरा गर्नसमेत निर्देशन दिनुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको आज भ्रमणपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजनालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो– “गुरुयोजनामा पवित्रता र आकर्षण थप गर्न सकिने हो भने हेरफेर गर्न सकिन्छ, तर यसको निर्माणमा भएको बिलम्व अशोभनीय हो, अब हामी प्रतीक्षा गर्न सक्दैनौँ ।”
प्रधानमन्त्री ओलीले गुरुयोजना पूरा गर्न रु छ अर्बको योजनालाई आगामी छ महिनाभित्र थप गरेर बिस्तृत लागत अनुमानसहित लुम्बिनीको विकास आयोजना अघि बढाउन निर्देशनसमेत दिनुभयो । उहाँले लुम्बिनीसँगै रामग्राम, तिलौराकोटलगायतका यस क्षेत्रका बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले लुम्बिनीलाई दुनियाँको एकपटक पुग्नैपर्ने आस्थाको गन्तव्यस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो– “अब तीन वर्षभित्र सबै काम सकेर यो स्थान दुनियाँको आकर्षणको केन्द्रको रुपमा विकास हुनेछ ।”
प्रधानमन्त्री ओलीले नेपाल पुण्यभूमि भएकाले बुद्धको जन्म पनि यही भूमिमा भएको उल्लेख गर्दै बुद्ध जन्मस्थल, बुद्धधर्मको मुहान र शान्तिकामीलाई प्रज्वलित गर्ने पवित्र भूमि भएको समेत बताउनुभयो ।
उहाँले यस क्षेत्रको ऐतिहासिकता, पवित्रता र महत्वलाई बुझ्ने र विश्वव्यापीकरण गर्न योगदान दिने सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले बुद्धको शान्तिको सन्देश सबैले आत्मसात् गर्नुपर्ने बताउँदै यसलाई शान्तिको पयार्यका रुपमा आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि सरकारको तर्फबाट यहाँ लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय निकाय र संयुक्त राष्ट्रसङ्घलगायतमा कुरा गरिरहेको बताउँदै यहाँको विकासका लागि तीव्रतर ढङ्गले अगाडि बढाउन सकिने बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्रीलाई लुम्बिनीको बृहत्तर विकासका र गुरुयोजनाका बारेमा लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईलगायतले जानकारी गराउनुभएको थियो ।
लुम्बिनी गुरुयोजनाको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न छ अर्ब रकम आवश्यक पर्ने र चार वर्षभित्रमा सम्पन्न गर्न सकिने वरिष्ठ इन्जिनियर भट्टराईले जानकारी गराउनुभयो ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न अब सबै क्षेत्रबाट बुद्ध जन्मस्थल र निर्माणको क्षेत्र लुम्बिनीको नारालाई साकार पार्नतर्फ लाग्न आह्वान गर्नुभयो ।
उहाँले बृहत्तर लुम्बिनी गुरुयोजनाको कामलाई अगाडि बढाउनु आवश्यक रहेको बताउँदै यसकालागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले लुम्बिनीलाई विश्वशान्ति क्षेत्र बनाउन यस क्षेत्रमा बन्द, हडतालको अन्त्य गरिनुपर्ने पनि बताउनुभयो ।

मन्त्री पोखरेलले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर जेठ ६ र ७ गते विश्वका बौद्धमार्गीलाई भेला गराई बौद्ध सम्मेलन गरिने सरकारको योजना रहेको समेत जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम तथा रोजगारमन्त्री दीपक बोहरालगायत आउनुभएको थियो । आजै प्रधानमन्त्रीले मायादेवी मन्दिरको अवलोकन तथा बौद्व परम्पराअनुसार पुजा पनि गर्नुृ भएको थियो ।

आजै प्रधानमन्त्री ओलीले लुम्बिनीमा रहेको बौद्ध विश्वविद्यालयको प्रशासनिक भवनको उद्घाटन पनि गर्नुभएको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको शिक्षा गुणस्तरीय र विश्वमा प्रतिस्पर्धा गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी विश्वविद्यालयले गुणस्तरीय, प्रतिस्पर्धी शिक्षाका लागि आफ्नो कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । चौधकोठे उक्त भवन करिब रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएको लुम्बिनी विश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यले जानकारी दिनुभयो ।
यसकालगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण र निर्माण कार्यको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts