Monday, February 8, 2016

संविधान कार्यान्वयन गर्न सक्ने नेतृत्व आउनुपर्छः देउवा

काठमाडौँ, २५ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकलौटी र अपारदर्शी काम गरे काँग्रेस चुप लागेर नबस्ने बताउनुभएको छ ।

काठमाडौँ काँग्रेसको जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता देउवाले भन्नुभयो, “काँग्रेस नेतृत्वको सरकारले समयमा निर्णय गर्न नसक्दा प्राधिकरणको नेतृत्व पारदर्शी रुपमा आउन सकेन, भूकम्पपीडितलाई पक्षपात नगरी राज्यले दिने सुविधा दिइनुपर्छ, काखा र पाखाको व्यवहार गरे काँग्रेस चुप लागेर बस्दैन, यसका विरुद्ध लड्छ । ”
संविधान कार्यान्वयन, स्थानीय निकाय, प्रान्तीय र संसदीय निर्वाचन गर्न सक्ने नेतृत्व काँग्रेसले महाधिवेशनबाट दिनुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा लोकतन्त्रको सुदृढीकरणका लागि बहुमत प्राप्त सरकारको आवश्यकता परेको नेता पूर्वप्रधानमन्त्री .देउवाले बताउनुभयो ।

महामन्त्री प्रकाशमान सिंहले नेपालको इतिहासमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको काँग्रेसले उपलब्धिलाई संस्थागत गर्न नसकेकाले अब असफलताबाट पाठ सिक्नुपर्ने बताउनुभयो । जिल्ला जिल्लाबाट आएका सुझावलाई आधार मानी काँग्रेसले नीति निर्धारण गर्ने उहाँको भनाइ थियो ।

पार्टी केन्द्रीय सदस्य एवम् सांसद नरहरि आचार्यले संविधानलाई संशोधन मार्फत पूर्णता दिँदै मधेस लगायत समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले ठूला राजनीतिक आन्दोलनको नेतृत्व गरेकैले जनताले काँग्रेसबाट धेरै अपेक्षा गरेकाले आधारभूत आवश्यकता पूरा गर्न सक्ने नेतृत्व महाधिवेशनबाट निर्वाचित हुनुपर्ने बताउनुभयो भने केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयन गर्न नसके संविधानविरुद्ध षड्यन्त्र सुरु हुने भएकाले दुई वर्षभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन गर्न सक्ने नेतृत्व महाधिवेशनबाट निर्वाचित हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद ध्यानगोविन्द रञ्जितले सिंहदरबारले काठमाडौँलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएकाले मधेसको जस्तै विस्फोट हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौँ काँग्रेस सभापति भीमसेनदास प्रधानले नेताको वरिपरि घुमेर नेता बन्ने परम्पराको अन्त्य गरी विचार र नीतिका आधारमा नेता छान्न कार्यकर्तासँग आग्रह गर्नुभयो । काठमाडौँका पूर्वसभापति तीर्थराम डङ्गोलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय अखण्डतामा आँच आउने गरी सम्झौता हुन नहुनेमा पार्टी नेतृत्वले सचेत गराउनुपर्ने माग गर्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य अम्बिका बस्नेत, ५ नं क्षेत्रीय सभापति रमेश खड्का र जिल्ला सचिव गीता सिंखडाले आगामी चुनौती सामना गर्न सक्ने नेतृत्व चयन गरिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रमुख निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले मङ्गलबार बिहान मनोनयन दर्ता गरी अपराह्न मतदान गर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गरिएको जानकारी दिनुभयो । मङ्गलबारको निर्वाचनले चारवर्षीय कार्यकालका लागि सभापति, सचिव र कोषाध्यक्षको चयन गर्नेछ । बाँकी पदाधिकारीको मनोनयन निर्वाचित सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले गर्नेछ ।

अधिवेशनमा जिल्लाभरका एक हजार २७३ प्रतिनिधिको सहभागिता छ । सभापतिमा प्रधान, नरोत्तम वैद्य, राजुराज जोशी र सबुज बानियाँले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts