प्यूठान, ४ फागुन । पूर्वराज्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरिबहादुर केसीको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
विस १९९४ माघ १५ गते प्यूठानको मरन्ठानामा जन्मनुभएका केसीको न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा बाचुन केसीले जानकारी दिनुभयो ।
आज बिहान ७ः२५ मिनेटमा केसीको निधन भएको हो । वामपन्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका केसी विसं २०२८ पछि मात्रै पञ्चायतमा लाग्नुभएको थियो । तत्कालीन अवस्थामा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्यूठानमा सुरु गर्नुभएको किसान आन्दोलनको प्रभावले राजनीतिक यात्रा सुरु गर्नुभएका केसीले पञ्चायत हँुदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही आफ्नो राजनीतिक यात्रालाई थप अगाडि बढाउनुभएको थियो ।
विसं २०२७ मा अर्थशास्त्रमा एमएसम्मको पढाइ पूरा गर्नुभएका केसी आर्थिक क्षेत्रमा राम्रो दख्खल राख्ने नेताको रुपमा आफ्नो छवि बनाउनुभएको थियो । अध्ययनकै क्रममा विसं २०२६ मा विद्यार्थी सङ्गठन अखिलबाट त्रिविको स्ववियु महामन्त्रीसमेत बन्नुभएको थियो । केसीको एक श्रीमतीसहित एक छोरा र छोरी रहेका छन् । उहाँका छोरा विशाल केसी र छोरी डा गार्मी केसी अमेरिकामा रहँदै आउनुभएको छ ।
त्यस्तै, उहाँकी श्रीमती विजया केसी नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमा विशेष सचिवको रुपमा लामो समयसम्म काम गरी हाल सेवा निबृत्त हुनुभएको थियो भने लोकसेवा आयोगको सदस्यसमेत रहनुभएको थियो ।
यस अघिको सरकारमा राप्रपाबाट आपूर्ति तथा वाणिज्य राज्यमन्त्री हुनुभएका केसीले २०७० चैत २४ देखि असोज २४ सम्म राज्यमन्त्रीको रुपमा काम गर्नुभएको थियो ।
राप्रपाका वरिष्ठ नेता पशुपति समशेर राणासँगै सेडा नामक संस्थामा काम गरेपछि उहाँ राप्रपामा आबद्ध हुनुभएका उहाँ नेता दीपक बोहोराका भिनाजु समेत हुनुहुन्छ । रासस
No comments:
Post a Comment