महोत्तरी, २० माघ । लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट आज दुई जना युवकलाई पक्राउ गरेको छ ।
गत सोमबार गौशाला बजारबाट घरतर्फ जाँदै गरेको एक जना पशु व्यापारीलाई रातिको समयमा धम्काएर लुटपाट गरेको आरोपमा गौशाला नगरपालिका–६ का ३० वर्षीय मुकेश राउत र श्रीपुर–२ का २२ वर्षीय राम एकवाल रामलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले आज बिहान उनीहरुलाई घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । चार जनाको समूहमा रहेका उनीहरु महोत्तरीको औरही–५ बाट रु ४४ हजार नगद तथा एक थान मोबाइल लुटेको किटानी जाहेरीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका राम र राउतलाई आवश्यक अनुसन्धानका लागि जलेश्वर पठाइएको प्रहरी नायब निरीक्षक घिमिरेले बताउनुभयो । सो समूहका अन्य दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस
No comments:
Post a Comment