बुङ्कोट (गोरखा), २ फागुन । जहानियाँ राणाशासनविरुद्ध बुलन्द आवाज उठाएपछि तत्कालीन राणा शासकले खिर्राको रूखमा झुन्ड्याएर हत्या गरेका गोरखा बुङ्कोटका लखन थापाको १३९औँ स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ ।
बुङ्कोटको काउलेभङ्गारस्थित थापाको अर्धकदको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा स्थानीयवासीले थापाको सालिकलाई सहिद गेटमा राख्न सरकारसँग माग गरेका छन् ।
गत असोज ३ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको पालामा थापालाई नेपालको प्रथम सहिदका रुपमा घोषणा गरेपछिको पहिलो स्मृति दिवसको अवसरमा स्थानीयवासीले सांस्कृतिक कार्यक्रमका साथै औपचारिक कार्यक्रम गर्दै थापाको योगदानको चर्चा गरेका हुन् ।
बुङ्कोट गाविस, प्रथम सहिद लखन थापा तथा जैसिङ चुमी मगर प्रजातान्त्रिक युवा क्लब र नेपाल मगर सङ्घको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष अशोक राई, एमाओवादीका कृष्ण राना, क्रान्तिकारी माओवादीका राजन आले, नेपाल मगर सङ्घका अध्यक्ष विष्णु राना मगरलगायतले थापाको योगदानको चर्चा गर्नुभएको क्लबका सचिव राजकुमार आलेले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment